२५ हजारका योजना राखिएपछि माओवादीकै पूर्वअर्थमन्त्रीले गरे बजेटको विरोध
काठमाडौं। अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार छ। अर्थमन्त्री पनि माओवादीकै वर्षमान पुन छन्। अनि यो सरकारलाई सघाएको छ, एमालेसहितका दलहरुले, जसलाई वाम गठबन्धन भनिएको छ।
अर्थमन्त्री पुनले १५ जेठमा आगामी आवको बजेट प्रस्तुत गरेका थिए। अहिले संसदमा बजेटमाथि छलफल भइरहेको छ। प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटको विरोध प्रतिपक्षले मात्र होइन माओवादीकै नेताहरुले गरिरहेका छन्।
माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले २५ हजारदेखि १ लाख रुपैयाँका योजनासमेत संसद्मा प्रस्तुत गरेर संघीयताको उपहास गरेको बताए।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरुले प्रदेश र स्थानीय सरकार पनि छन् भन्ने कुरा बिर्सिएको पाइएको बताए।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले बजेट प्रस्तुत गर्ने प्रतिबद्धता र घोषणा गर्नुभएको थियो । प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं । बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेको देखिएन,’ उनले भने। नेपालपाना


