७ कार्तिक २०८१, बुधबार

भारत सरकारको तीन करोड आर्थिक सहयोगमा प्यूठानमा विद्यालय भवन बनाउने

एसीपी संवाददाता

२ असार २०८१, शनिबार १५:२३ मा प्रकाशित

काठमाडौं। भारत सरकारको तीन करोड तीन लाख ९२ हजार सहयोगमा प्यूठानमा विद्यालय भवन बन्ने भएको छ। ऐरावती गाउँपालिका–१ स्थित दाङ–बाङ माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवनको शिलान्यास गरिएको छ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाह र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरे। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिने जनाइएको छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ। यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो।

ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

प्यूठानको ऐरावती गाउँपालिकास्थित दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ। साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुऱ्याउनेछ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यी मध्ये प्यूठानका २ वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। त्यसमध्ये प्यूठान जिल्लालाई प्रदान गरिएको १० वटा एम्बुलेन्ससहित लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x