२ श्रावण २०८३, शनिबार

कांग्रेसभित्रको विवादका कारण लुम्बिनीमा भएन मन्त्रीपरिसद बिस्तार

एसीपी संवाददाता

३० श्रावण २०८१, बुधबार १९:२५ मा प्रकाशित

नयाँ सत्तासमीकरणसँगै बनेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले एक महिना पुग्न लाग्दा पनि पूर्णता पाउन सकेको छैन। सत्तासाझेदार दल कांग्रेसभित्रको विवादका कारण मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

लुम्बिनीमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएको छ। मुख्य सत्ताघटक दलहरूबीच सोहीअनुसारको समझदारी पनि छ। तर, एमाले र कांग्रेसबाट पाँच–पाँचजना सहभागी हुने भनिएकोमा कांग्रेसले एकजना मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो।

लुम्बिनीमा हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र कांग्रेसबाट चार मन्त्री छन्। दुई मन्त्री साना दलबाट सहभागी गराउने कांग्रेस–एमालेले बताउँदै आएका छन्। तर, साना दल कुन कुनलाई सहभागी गराउने भन्ने विषयमा पनि गठबन्धन निष्कर्षमा पुग्न सकेको छैन।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रीमा कांग्रेसबाट थप कसलाई पठाउने भन्ने टुंगोमा पुगिनसकेको बताए। ‘यसबारेमा थप छलफल भएको छैन। अझै केही दिन लाग्न सक्छ,’ उनले भने।

त्यस्तै, साना दलका बारेमा पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए। नेता चौधरीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ।

यसैबीच मुख्यमन्त्री आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन्। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुनमगरले जानकारी दिए।

उनका अनुसार विश्वासको मत माग्ने सूचना मुख्यमन्त्रीले बुधबार प्रदेश सभामा दर्ता गराएका छन्। सभामुख तुलाराम घर्तीमगरले भदौ ४ गते दिउँसो १ बजेलाई प्रदेश सभाको बैठक डाकेका छन्।

आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ पत्रीका ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x