२ श्रावण २०८३, शनिबार

भारतले नेपालसँग प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा थप २ सय ५१ मेगावाट बिजुली किन्ने

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार ०६:०७ मा प्रकाशित

भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताए। उनले विगतमा भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताए।

कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताए। उनले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताए। उनले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताए। उनले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिए।

उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताए। उनले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा निर्यात गरिने बताए। उनले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताए। दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा (नेपाली ८ रुपैयाँ ७२ पैसा) रहेको उनले बताए।  उनले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताए। यो वर्षमा भारतमा  १ हजार मेगावाट विद्युत पठाउने योजनामा प्राधिकरण रहेको उनको भनाइ छ। २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताअनुरुप भएको उनले बताए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x