१०० दिन्को सरकार हो -पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो सरकार एक सय दिन भन्दा बढि नटिक्ने कुरा कांग्रेसकै नेताहरुले भन्ने गरेको बताएका छन् । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताए । ‘कांग्रेसकै प्रभावशाली नेताहरुले यो सरकार एक सय दिनभन्दा बढि टिक्दैन भनेर भन्नुहुन्छ’,उनले भने‘तर, हामी सरकारको लोभमा छैनौं, सशक्त प्रतिपक्षकै भूमिकामा रहनेछौं ।’
उनले प्रतिपक्षमा रहेर जनताका आवाज उठाउने बताए ।‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउछौं’,उनले भने‘ हामी सधै सरकारमा हुँदा जनतासँगको सम्बन्ध टुटेको छ, हामीले आफ्ना कमजोरी पनि जनतालाई भन्ने छौं र सुधारको बाटोमा जानेछौं ।’ यसअघिको प्रचण्ड नेतृत्वको सरकारले शुसासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेको भन्दै त्यसमा जनता खुसी भएको समेत उनले बताए ।
वर्तमान सरकारले संविधान संसोधनको नारा लगाएको भन्दै सहभागितामुलक समावेशीलाई संसोधन गर्न खोजे त्यसको जनताबाटै विरोध हुने समेत उपमहासचिव पुनको भनाइ छ । उनले सकारात्मक रुपले संविधान संसोधन गर्ने कार्यलाई स्वीकार गर्न सकिने बताए ।
जनता निरास भएको भन्दै बंगलादेशलगायत देशमा देखिएको समस्या नेपालमा पनि आउने सक्ने कुराको संकेत गरे । नयाँ पत्रीका



