२ श्रावण २०८३, शनिबार

हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

एसीपी संवाददाता

८ भाद्र २०८१, शनिबार ११:०१ मा प्रकाशित

भण्डारीले ‘नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र्र महाअभियान केन्द्रीय समन्वय समिति’को संयोजकका हैसियतले देउवालाई हिजो (बिहीबार) सो ज्ञापनपत्र बुझाएका हुन्‌ । ज्ञापनपत्रमा उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दु) राष्ट्र नेपाल कायम गराउनुपर्ने उल्लेख गरेका छन्‌ ।

दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको भण्डारीले दाबी गरेका छन्‌ । सो घोषणा राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्नेगरी गरिएको पनि भण्डारीको तर्क छ ।

‘…अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर बन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरूको एउटा ठूलो समूहले २०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली काँग्रेस, वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरी संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र घोषणा गर्न माग गर्दै पार्टी भित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्यको यो अवसरमा स्मरण गराउँदछु,’ निकै लामो वाक्यमा भण्डारीले हिन्दु राष्ट्र कायम गराउन कांग्रेसभित्रबाट भएको प्रयासबारे लेखेका छन्‌ ।

नवलपरासी जिल्लाको त्रिवेणी धाममा बसेको पार्टी महासमिति बैठक, पाँच वर्ष पहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षर सहित गरेको मागलाई महासमिति बैठक स्थल गोदावरीमा वसेको पदाधिकारीहरूको बैठकले नेपाली काँग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको तर्फबाट यसका संयोजक केन्द्रीय सदस्य माननीय शंकर भण्डारीलाई महासमिति बैठकको पूर्ण–सत्रमा महाअभियानको बहुमतको हस्ताक्षर सहितको मागलाई प्रस्तुत गर्न दिने निर्णय गरे वमोजिम संयोजक शंकर भण्डारीले महासमिति बैठकको पूर्ण–सत्रमा महासमितिका बहुमत सदस्यले हिन्दूराष्ट्रको पक्षमा गरेको हस्ताक्षर सहितको मागलाई निर्णयार्थ पेश गरिएको पनि भण्डारीको दाबी छ ।

हाल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकमा समूहगत रूपमा भएका छलफलमा महासमिति सदस्यहरूले दिएको सुझावलाई समेटेर पछि बस्ने नेपाली काँग्रेस, केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक, आर्थिक लगायत सबै प्रस्तावलाई अन्तिम रूप दिने भन्ने निर्णय गरे बमोजिम जारी केन्द्रीय कार्यसमिति बैठकमा व्यापक छलफल भैरहेको पनि सो ज्ञापनपत्रमा उल्लेख छ ।

हिन्दु राष्ट्र कायम गराउने विषय आम नेपाली जनताको व्यापक सरोकारको विषय बनेको, महासमिति बैठकको बन्द सत्रको समूहगत छलफलमा व्यापक रूपमा हिन्दूराष्ट्रको पक्षमा मत प्रकट भएकाले महासमिति बैठकमा बहुमत महासमिति सदस्यहरूको हस्ताक्षर सहित हिन्दूराष्ट्र पक्षमा अभिव्यक्त अभिमतलाई सम्बोधन गर्नुपर्ने भण्डारीको माग छ ।

जारी केन्द्रीय कार्यसमिति बैठकले नेपाललाई वैदिक हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेण्डा बनाउन नेपाली कांग्रेस अग्रसर बन्नुपर्ने माग भण्डारीले राखेका हुन्‌ ।

‘राष्ट्रिय महत्वको र व्यापक जनसरोकारको विषयमा पार्टीले समय छँदै उपयुक्त निर्णय लिन नसके भविष्यमा पार्टीलाई पुग्नसक्ने क्षतिप्रति अहिले नै गहिरो चासो र चिन्ता लिन पार्टी समग्र कार्यकताहरूलाई’ भण्डारीले आग्रह गरेका छन्‌ । खबर हब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x