२ श्रावण २०८३, शनिबार

परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

एसीपी संवाददाता

११ भाद्र २०८१, मंगलवार २२:३१ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गर्नुृभएको थियो । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उहाँले आग्रह गर्नुभयो ।

यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताउनुभएको थियो । त्यसैगरी नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो ।

ओमान पक्षले पनि नेपाली श्रमिकहरु काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिमक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो । त्यस्तै परराष्ट्र मन्त्री डा. राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गर्नुभएको थियो । त्यस वार्तामा मन्त्री डा. राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

सो वार्तापछि मन्त्री डा. राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो । उहाँले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा राणाले दिनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x