२ श्रावण २०८३, शनिबार

भारतीय सहयोगमा भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक मेसिन थपियो

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ०८:०७ मा प्रकाशित

भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत नविन कुमार श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरेका छन ।
कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए ।

भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले सोही क्रममा बताए । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले स्वास्थ्य सेवाबारे चर्चा गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x