ईजरायलको हमलामा लेबनान ठुलो नोक्सानीको अनुमान
लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।
त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ । लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ ।



