३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलि थाइल्यान्ड जादै

एसीपी संवाददाता

१८ चैत्र २०८१, मंगलवार ०८:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जाँदै हुनुहुन्छ । उहाँ मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लाग्नु भएको हो ।

थाइल्याण्डका प्रधानमन्त्री पैटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार दिउँसो साढे १ बजे बैंककतर्फ प्रस्थान गर्नुहुनेछ । नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

चैत्र २० गते थाइल्याण्डमा औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुनेछ भने पर्यटन र संस्कृति सम्बन्धित विषयमा दुई वटा र गैर सरकारी क्षेत्रबिच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

यसरी द्विपक्षीय वार्ता सकिएपछि थाइल्याण्डका प्रधानमन्त्री सिनावात्रासँगै प्रधानमन्त्री ओली संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । प्रधानमन्त्री ओलीले त्यसै दिन थाइल्याण्डका नरेशसँग भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्नुहुनेछ भने त्यसैदिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ ।

यस्तै चैत २२ गते प्रधानमन्त्री ओली बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायत २१ जना रहेका छन् । प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x