कमल विके निर्मोही नेपाली कला क्षेत्रमा बहुमुखी प्रतिभाका धनी ,सिकिस्त हुँदा सहयोगको अपिल
नेपालगन्ज, कार्तिक -नेपाली कला, संस्कृतिको उज्यालो नाम, वरिष्ठ राष्ट्रिय कलाकार कमल विके निर्मोही हाल अस्वस्थ रहनुभएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उहाँ नियमित डायलासिस उपचार गराइरहनुभएको छ । लामो समयदेखि गीत, संगीत, उद्घोषण, पत्रकारिता र वाद्यवादनका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका निर्मोही पछिल्ला दिनमा स्वास्थ्य समस्याका कारण थला पर्नुभएको हो । उहाँको दाहिने खुट्टा सुन्निने र ठीकसँग चल्न नसक्ने समस्या देखिएपछि परिवारले अस्पतालमा सके जति उपचार गर्दै आउनुभएको छ । अहिले उहाँको उपचार डा. पारस श्रेष्ठको निगरानीमा भैरहेको छ । निर्मोहीको स्वास्थ्य अवस्था स्थिर भए पनि निरन्तर डायलासिस उपचारका कारण आर्थिक भार बढ्दै गएको छ ।
कमल विके निर्मोही नेपाली कला क्षेत्रमा बहुमुखी प्रतिभाका धनी कलाकारको रूपमा चिनिनुहुन्छ । गायनमा मधुर स्वरका कारण उहाँले धेरैको मन जित्नुभएको छ भने, उद्घोषण र सञ्चार क्षेत्रमा पनि उहाँको आवाज धेरै कार्यक्रमको आत्मा बनेको छ । रेडियो नेपाल, र विभिन्न टेलिभिजन च्यानलहरूमा लामो समयसम्म कार्य गर्दै उहाँले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म आफ्नो छाप छोड्नुभएको छ । वाद्यवादनमा पारंगत निर्मोहीले धेरै कलाकारहरूलाई प्रेरित गर्नुभएको छ । उहाँले थुप्रै सांगीतिक कार्यक्रम, सांस्कृतिक महोत्सव र सामाजिक अभियन्ताहरूका अभियानमा सक्रिय रूपमा सहभागिता जनाउनुभएको थियो । यस्ता बहुआयामिक योगदानका बावजुद आज उहाँ अस्वस्थ हुनु दुखद पक्ष हो । कला क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्ति आज आर्थिक अभावमा उपचार गराउन कठिनाइ भोग्नु, सम्पूर्ण कलामन भएका व्यक्तिका लागि चिन्ताको विषय बनेको छ । वरिष्ठ कलाकार निर्मोहीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन हालै नेपालगन्जस्थित निज निवासमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि जानकारी गराएको थियो । उक्त कार्यक्रममा उहाँका परिवारजन र सहकर्मी कलाकारहरूले स्वास्थ्य अवस्था सार्वजनिक गर्दै सहयोगको अपिल गरेका थिए । “कमल विके निर्मोहीजस्ता कलाकारले देशका हरेक कुनामा कला र संस्कृतिको उज्यालो फैलाउनुभएको छ । आज उहाँलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।” सामाजिक सञ्जालमार्फत पनि धेरै शुभेच्छुकहरूले आर्थिक तथा नैतिक सहयोगका लागि अभियान सुरु गर्ने भएको छ । उहाँको उपचार निरन्तर र सफल होस् भन्ने शुभकामना दिएका छन् । कमल विके निर्मोहीको अस्वस्थले फेरि एक पटक नेपालमा कलाकारहरूको सामाजिक र आर्थिक सुरक्षाको प्रश्न उठाएको छ । कलाको जगमा समाजलाई मनोरञ्जन, सन्देश र चेतना दिने व्यक्ति स्वयं संकटमा परेपछि राज्य, संस्था र समाज सबैले हातेमालो गर्नुपर्ने आवश्यकता देखिएको छ ।
संवेदनशील समयमा सहयोगी मनहरूको साथ र समर्थनले मात्र उहाँलाई जीवन र आशाको बल दिन सकिन्छ । त्यसैले स्थानीय, संघसंस्था, मिडिया र शुभेच्छुकहरूले कलाकार निर्मोहीको उपचारका लागि सकेको सहयोग गर्न अनुरोध गरिएको छ । नेपालगन्जको कला र सांस्कृतिक परिवेशमा गहिरो छाप छोड्नुभएका वरिष्ठ कलाकार कमल विके निर्मोही शीघ्र स्वास्थ्यलाभ होस् भन्ने सामूहिक कामना सबैको मुखबाट एकै स्वरमा सुनियोस् । कलाकार निर्मोहीको थप आर्थिक सहयोगका लागि आर्थिक समिति बनाएर थप उपचारका लागि पहल गरिने भएको छ ।


