बाबर अजामलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड
पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड जितेका छन्।
बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्।
अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो।
आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २-२ प्रतिनिधि र २ जना अन्य प्रतिनिधि गरी २६ जना रहेका छन्।
यसअघि आइसिसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशलसँगै पाकिस्तानका बाबर र फखरको नाम सार्वजनिक गरेको थियो।
फखरले गत महिना तीन एकदिवसीय खेल खेल्दा २ शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।
कुशलले अप्रिलमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।
नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।


