पाकिस्तानमा शिख समुदायको बिरोध प्रदर्शन ; युवकको अवस्था अज्ञात
पेशावर । पाकिस्तानमा विभिन्न सम्प्रदायिक विद्रोही समूहहरुले अल्पसंख्यक समुदाका व्यक्तिहरुको अपहरण गर्ने, किशोरीहरुको अपहरण गरेर धर्म परिवर्तन गराउने, अर्को धर्मको व्यक्तिको हत्या गर्नेजस्ता अपारधिक गतिविधिहरु दिनानुदिन बढ्दै गइरहेको छन् ।
पछिल्लो समय शिख समुदायका एक युवक अपहरणमा परेका छन् । पेशावरबाट ती शिख युवकको अपहरण गरिएको हो । तर, हालसम्म उनको अवस्थाबारे भने कुनै जानकारी दिइएको छैन । एक महिनाअघि अपहरणमा परेका अविनाश सिंहलाई हालसम्म रिहा नगरिएको र प्रहरी प्रशासनले भने उद्धारको कुनै पहल गर्न नसकेको भन्दै सिख समुदायका सदस्यहरूले पेशावरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले अविनाशलाई सुरक्षित र चाँडै रिहा तथा उद्धारको सुनिश्चित गर्न प्रान्तीय सरकारसँग माग गरेका छन् । उक्त प्रदर्शनका महिला तथा बालबालिकाको समेत उपस्थिती रहेको थियो । उनीहरुले यस मुद्दालाई निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न र अविनाशलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका थिए ।
उनीहरूका अनुसार अविनाश सिंह एक महिना पहिले गुलबर्ग क्षेत्रबाट रहस्यमय अवस्थामा बेपत्ता थिए ।
प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै बोल्दै शिख सभा युवा मामिलाका प्रतिनिधि सरदार परविंदर सिंहले बेपत्ता पारिएका व्यक्ति एक राम्रो र शिक्षित व्यक्ति भएको र उनको परिवारको कसैसँग दुश्मनी नभएको बताएका छन् ।
उनले भने, “अविनाश सिंहको बारेमा पत्ता लगाउन हामीले कडा प्रयत्न गरेका थियौं, तर कुनै फाइदा भएन ।” उनले प्रान्तीय पुलिस प्रमुखलाई उक्त युवाको सुरक्षित रिहाइको पहल गर्न आग्रह गरेका छन् ।
उनले विगतमा पनि देशका विभिन्न भागहरूमा धेरै शिख समुदायका सदस्यहरू मारिएको भए पनि हत्याराहरू पक्राउ हुन नसकेका बताएका छन् ।
“हाम्रा मानिसहरू प्रायः बिभिन्न व्यवसायमा कारोबार गरिरहेका हुन्छन् र उनीहरूको कुनै दुश्मनी छैन तर पनि उनीहरूलाई अज्ञात व्यक्तिले निशाना बनाएका छन” उनले दुःख व्यक्त गरे । सरकारलाई जनतालाई सुरक्षा प्रदान गर्न र अवनीश सिंहको अपहरणको आरोप छानबिन गर्न माग गरेका छन् ।


