जसपार्टीका अध्यक्ष ठाकुर र महतो पक्षका सांसदको समर्थनमा ओलिले प्रधानमन्त्रीमा दाबी गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदको साथ लिएर धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबीको तयारी गरेका छन् ।
दाबी प्रस्तुत गर्ने विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित जसपा अध्यक्ष ठाकुर र नेता महतो राति ११ बजे शीतलनिवास पुगेका थिए । त्यहाँ यस विषयको सम्भावनाबारे छलफल भएको जसपाका एक नेताले बताए ।
‘जसपाको समर्थनमा सरकार भन्ने सम्भावनाबारे छलफल भएको हो, कुनै निर्णयमा भने पुगिएको छैन,’ ती नेताले भने । राष्ट्रपतिले दिएको समयसीमाभित्र ७६ को उपधारा ५ अनुसार ओलीको दाबी आउने ती नेताको भनाइ छ ।
जसपाको माग सम्बोधन लागि संविधान संशोधन कार्यदल गठनको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत प्रदान गरिसकेको छ भने सरकारले नागरिकतासम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी प्रधानमन्त्रीले जसपाका नेताद्वय ठाकुर र महतोलाई दिएका थिए ।
हाल नेकपा एमालेमा १ सय २१ सांसद छन् । २६ वैशाखमा भक्तपुरको डोलेश्वर रिसोर्टमा ठाकुर पक्षका २१ सांसद उपस्थिति रहेको दाबी त्यस समूहले गरेको थियो । त्यही बैठकमार्फत राजेन्द्र महतोलाई जसपाले संसदीय दलको नेतामा चयन गरेको थियो । राष्ट्रपतिको सरकार गठनको आह्वानलाई भने विपक्षी दलहरूले संवैधानिक रूपमा गलत भएको भन्दै सच्याउन माग गरिरहेका छन् ।
जसपा नेता शरदसिंह भण्डारीले आफूहरूको प्रयास प्रधानमन्त्री ओलीलाई चुनावमा जानबाट रोक्नु रहेको बताएका छन् । उनले भने, ‘संसद विघटन गरेर चुनावमा जानु हुँदैन भन्ने हाम्रो मत छ । कम्तिमा सरकार पाँच वर्ष चलोस् भन्ने मत हाम्रो छ । संविधान संशोधनको लागि कार्यदल र नागरिकता सम्बन्धी अध्यादेश नै ल्याएको हो भने हामीले ओलीलाई नै साथ दिन्छौँ ।’
तर, आजै नयाँ सरकारको दाबी गर्ने भन्ने कुरा सत्य नभएको उल्लेख गर्दै उनले भोलिको समय सीमाभित्र ओलीलाई समर्थन गर्दै दाबी प्रस्तुत हुनसक्ने भने बताए ।
संविधानविद्हरूले भने प्रधानमन्त्रीले राजीनामा नदिई अर्को सरकार गठनको प्रक्रिया सुुरु गर्जस त्रुटिपूर्ण रहेको तर्क गरेका छन् । धारा ७६ को ३ अनुसार ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा तेस्रो पटक चयन भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको अवस्थामा अर्को प्रक्रिया अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु गैरसंवैधानिक भएको संविधानविद् तथा राजनीतिक दलहरूको भनाइ छ ।


