१२ मंसिर २०८३, शुक्रबार

पाँच पूर्व प्रधानमन्त्रीको मामिलामा बाह्य हस्तक्षेप

एसीपी संवाददाता

१ असार २०७८, मंगलवार ०१:३३ मा प्रकाशित

काठमाडौं । पाँच पूर्व प्रधानमन्त्रीहरु नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भनेर वक्तव्यबाजीमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चौतर्फी घेराबन्दी गरिरहेका उनीहरुले अर्को फण्डा निकालेका हुन् ।

विज्ञप्ति निकालेरै बाह्य हस्तक्षेप स्वीकार्य छैन भनेर प्रधानमन्त्री ओलीलाई थ्रेट दिन खोजेका छन् । तर यसरी थ्रेट दिनेहरु नै विगतमा आफ्नो कार्यकालमा बाह्य हस्तक्षेप भित्र्याउने मतियार बनेको पाइएको छ । घटनाक्रमहरुले नै यसलाई पुष्टि गर्छ ।

शनिवार विपक्षी गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनालले संयुक्त विज्ञप्ति जारी गरेका थिए बाह्य हस्क्षेप बढाएको भनेर । तर यिनीहरुको कार्यकाल र कार्यशैलीले नै बाह्य हस्तक्षेप बढाएको निष्कर्ष निकाल्न सकिन्छ ।

व्यवहारमै देशलाई स्वाधिन राख्ने राजतन्त्र सिध्याउनेदेखि विश्वकै एकमात्र हिन्दु राष्ट्रको पहिचान मेटाउनेसम्म राष्ट्रघाती र जनघाती काम यिनिहरुकै पालमा भएको छ । त्यो पनि विदेशीको दबाब, प्रभाव र प्रलोभनमा ।

तर संविधान निर्माणदेखि नाकाबन्दी, लिम्पियाधुरा-कालापानी नक्सासम्म दह्रो अडान लिएका, भारतीय दलालहरुलाई बालुवाटार प्रवेशमा निषेध गरेका, भारतीय हस्तक्षेपको डटेर सामना गरेका प्रधानमन्त्री ओलीमाथि तिनै मतियारहरुले विज्ञप्ति निकालेर सत्ताबाट हटाउन बाह्य हस्तक्षेपको फण्डा ल्याएर दबाब दिन खोजेका छन् । तर सचेत नागरिकले यो फण्डालाई बुझेका छन् । को राष्ट्रवादी को राष्ट्रघाती भन्ने सर्वविदितै छ ।

तै पनि हामी यहाँ ति ५ प्रधानमन्त्री जसले बाह्य हस्तक्षेप भित्रिँदैछ भनेर फण्डा गर्न खोजेका छन् तिनीहरुको पालामा कसरी नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भयो र त्यसलाई कसरी स्वीकार गरियो भन्नेबारे सामान्य चर्चा गर्दैछौं ।

पहिला त माधव नेपालकै कुरा गरौं । १५ वर्ष पार्टी चलाएका र विदेश विभाग प्रमुख रहेका अन्तर्राष्ट्रिय सम्बन्ध भएका नेपाल भारतकै पहलमा प्रधानमन्त्री बनेका छन् । त्यतिबेलाका मधेसी दलको साथ लिएर प्रधानमन्त्री बनेका माधव नेपालको क्याविनेटका एक जना मन्त्रीको विवादास्पद अभिव्यक्तिले देशव्यापी आगो बलेको थियो ।

मधेसी दलको साथ लिएर भारतीय समर्थनमा कम्फरटेबल सरकार बनाएर नेपालमा हस्तक्षेप भित्र्याएका नेपालले ओलीले बाह्य हस्तक्षेपविरुद्ध डटेर सामना गरिरहेको अहिलेको समयमा नेपालले विज्ञप्ति निकालेर हस्तक्षेप स्वीकार्य छैन भन्नु हास्यास्पद कुरा जस्तै हो । त्यसो त हिन्दु राष्ट्र हटाएर क्रिश्चियनको योजनामा जबरजस्ती धर्मनिरपेक्षता लादनमा माधव नेपालको पनि भूमिका रहेको बताइन्छ । माधवको विदेशीसँगको हिमचिम पनि अस्वभाविक छ ।

त्यसैगरी माधवपछि झलनाथ खनाल प्रधानमन्त्री भए । उनको पालामा पनि बाह्य हस्तक्षेप कायम रह्यो । कालापानी विवाद उठे पनि कुनै पहल गर्न सकेनन् । मधेस केन्द्रीत दल र भारतको खुलेयाम मनपरीतन्त्र र हस्तक्षेप चल्दा पनि झलनाथ सरकारले कुनै पनि खालको नियन्त्रण गर्न सकेन । जसले आफ्नो कार्यकालमा बाह्य हस्तक्षेप नियन्त्रण गर्न सकेनन् उनैले आज बाह्य हस्तक्षेप स्वीकार्य छैन भनेर फण्डा गर्नु आफैमा हाँस्यास्पद छ ।

अब कुरा गरौं बाबुराम भट्टराई र प्रचण्डको । भट्टराई त भारतको जेएनयु विश्वविद्यालयका उत्पादन नै हुन् । दुबै जना कमाण्डर भएको जनयुद्ध भारतकै सहयोगमा चलेको थियो । भारतले सेल्टर दिएर राख्दा माओवादीले नेपालमा रक्तपात मच्चाएको थियो । १७ हजार नागरिकले ज्यान गुमाए । त्यतिमात्रै होइन भारतकै डिजाइनअनुसार दिल्लीमा १२ बुँदे सम्झौता गर्ने पनि प्रचण्ड बाबुराम नै थिए । यिनीहरुको पालमा वैदेशिक हस्तक्षेप चरम उत्कर्षमा थियो । तर अहिले यी दुबै नै पुरै बाह्य हस्तक्षेप स्वीकार्य हुन्न भनेर जोडतोडले बोल्दैछन् ।

बाबुरामले विप्पा सम्झौता गरे । पहिलो संविधानसभा भंग गरे । यी दुबै काम बाह्य हस्तक्षेपमा भयो । त्यसैगरी जनताको भावना विपरीत देशमा धर्म निरपेक्षता लादियो । त्यो पनि इयुले अर्बौ खर्च गरेर । यहाँनेर देखिनेगरी वैदेशिक हस्तक्षेप थियो । तर यसको मुख्य मतियार प्रचण्ड र बाबुराम नै थिए । नेपालमा बाह्य हस्तक्षेप ल्याएर तहस नहस बनाउन मुख्यत माओवादी कमाण्डरकै भूमिका छ । एक हिसाबले भन्ने हो भन्ने माओवादी जनयुद्ध नै बाह्य हस्तक्षेप थियो । भित्र्याउने माध्यम बन्यो ।

त्यसैगरी प्रचण्डको सरकारले विना प्रतिस्पर्धा चीनलाई बुढिगण्डकी सुम्पिदिए । प्रचण्ड पहिलोपटक प्रधानसेनापति काण्डमा राजीनामा दिनुपरे पछि बाबुराम भारतकै आर्शिवादमा प्रधानमन्त्री बनेको पनि लुकेको छैन ।

केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेपछि उनले दीर्घकालीन योजना अघि सारे । जसले विपक्षीहरु आत्तिए । नाकाबन्दीको डटेर सामना गरेका, संविधान निर्माण भारतले गर्न खोजेको हस्तक्षेपलाई ठाडै अस्वीकार गरेका ओलीलाई हटाइयो । भारतको इशारामा प्रचण्डले ओलीलाई हटाए । शेरबहादुर देउवासँग मिले । ओलीलाई हटाएर प्रचण्ड र देउवा पालैपालो प्रधानमन्त्री बने । यो बिचमा भारत रिझाउन कहिले उपचार त कहिले व्यक्तिगत भ्रमणका नाममा उनीहरुको दिल्ली दौड निकै चलेको थियो ।

अहिले भारतमा ईयुका एजेन्टहरु एसडी मुनी, रञ्जित रे, श्यामशरण, अतुल ठाकुर, प्रशान्त झा र हिन्दुस्तान टाइम्सलाई परिचालित गरेर बाबुराम केपी ओलीविरुद्ध बाह्य जनमत बनाउन सक्रिय छन् । तर उनी नै फेरि विज्ञप्ति निकालेर भन्दैछन् कि बाह्य हस्तक्षेप स्वीकार्य छैन । वास्तविकता के हो भने ओलीले निष्तेज पार्न खोजेको बाह्य हस्तक्षेपलाई जोगाउन बाबुराम हात धोएर लागिपरेका छन् ।

त्यसो त एसडी मुनी भनेका बाबुराम र अमरेश कुमार सिंहका गुरु हुन् । अमरेश यस्ता पात्र हुन जसले भारतको डर प्रधानमन्त्रीलाई देखाएर आफ्नो फाइदा लिन्थे । बाबुराम र अमरेशलाई एसडीले नै गाइड गर्दै आएका छन् ।

बाबुरामले त केही दिनअघि मात्रै बालुवाटार र भारतीय दूतावास पुगेर आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन हारगुहार गरेका थिए । नमानेपछि भारतीय मिडियामा आर्टिकल लेखेर ओलीले परिवर्तन मास्न खोजेको आरोप बाबुरामले लगाए ।

सत्ताका लागि पार्टीसम्म फुटाउने शेरबहादुर देउवाको कुरै नगरौं । उनी त लोकतान्त्रिक पनि भएकाले भारतको सदभाव हमेशा रहँदै आएको छ । देउवालाई पार्टी सभापति बनाउनेदेखि प्रधानमन्त्री बनाउनेसम्म भारतको समर्थन रहँदै आएको छ ।

देउवा पनि भारतप्रति लोयल छन् । देउवाकै पालामा भारतको पक्षमा केही निर्णय पनि भए । भारतीय र विदेशी चलखेल नियन्त्रण गर्न देउवाको पनि कुनै भूमिका रहेन । सत्ताका लागि उनी पनि दिल्ली दौडमा गएका थिए बरु ।

यी घटनाक्रमलाई नजरअन्दाज गर्दै बाह्य हस्तक्षेप स्वीकार्य छैन भनेर बाबुराम प्रचण्डको लहलहैमा विज्ञप्ति निकाल्नु देउवाको भुल हो । हुन त नेपालमा ओलीलाई घेर्न अहिले पुर्व भइसकेकाहरु चाहे त्यो प्रधानन्यायाधीश होस् चाहे प्रमुख निर्वाचन आयुक्त चाहे अन्य नै पूर्वहरुले संयुक्त विज्ञप्ति निकालेर घेर्ने रणनीति लिएका छन् । त्यसमा मिसिएका छन् पूर्वप्रधानमन्त्रीहरु ।

तर तिनीहरुले ओलीमाथि आक्षेप लगाउँदै गर्दा आफ्नो पालामा के कति हस्तक्षेप भयो भन्ने लेखाजोखा गरेनन् । बरु अहिले पनि भारत र चीनका लागि कम्फर्टेबल सरकार बनाउने भन्दै ओलीलाई हटाउने खेलमा लागिरहेका छन् । सत्ताका लागि सस्तो विज्ञप्ति निकालिरहेका छन् ।

त्यसैले त विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पाँचै पूर्वप्रधानमन्त्रीलाई दनक दिएका छन्, आफ्नो कार्यकालमा के गर्यौ, नाटक गर्ने?

मिश्रले नाटकको पनि सीमा हुने उल्लेख गरेका छन् । ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस्: पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति ।

नाटकको पनि सीमा हुन्छ । विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस् । तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुहेको हुने थिएन ।

विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हस्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने समयमैँ बुझिदिएको भए यो स्थिति आउने नै थिएन,’ मिश्रले भनेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x