काङ्ग्रेस सत्ताको खेलमा कम्युनिस्टहरुको ट्रयापमा
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवा कम्युनिस्टहरुको ट्रयापमा परेको निष्कर्ष निकालेका छन् । खासगरी रामचन्द्र पौडेल समूहका नेताले यस्तो निष्कर्ष निकालेका हुन् ।
खासगरी देउवाले नेपालमा बाह्य हस्तक्षेप भित्राउन कुनै न कुनै भूमिका खेलेका ४ कम्यनिस्ट पूर्वप्रधानमन्त्रीसँग मिलेर बाह्य हस्तक्षेप स्वीकार्दैनौ भनेर विज्ञप्ति निकालेपछि पौडेल समूहले देउवा ट्रयापमा परेको निष्कर्ष निकालेको हो । कम्युनिस्ट पूर्वप्रधानमन्त्रीसँग देउवाको हस्तक्षेप हुने र बाह्य हस्तक्षेपको कुरा गरेर पार्टीलाई नै घाटा हुने पौडेल समूहको ठहर छ ।
सो समूहका नेता डा शेखर कोइरालाले पाँच पूर्व प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै कम्युनिस्टको ट्रयापमा देउवा परेको बताए । कांग्रेसका शीर्ष नेताहरुको भर्चुअल अन्तरक्रियामा कोइरालाले विज्ञप्तिको भाषा नै गलत भएको बताए ।
कोइरालाले बैदेशिक हस्तक्षेपबारे विज्ञप्तिमा उल्लेखित भाषामा पनि असन्तुष्टि जनाए । ‘हाम्रा सभापति कम्युनिष्टको ट्रयापमा पर्नुभयो । पाँच जनामध्ये चार जना कम्यूनिष्ट पूर्वप्रधानमन्त्री छन् । कांग्रेसको जम्मा एक जना मात्रै छन् । त्यो भनेको बीस प्रतिशत मात्रै हो,’ उनले भने, ‘विज्ञप्तिको भाषा पनि मिलेन । विज्ञप्ति निकाल्नुपर्ने नै आवश्यकता थिएन ।’
पाँच पूर्व प्रधानमन्त्रीले दुई दिनअघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गरेका थिए । कांग्रेस सभापति देउवाबाहेक चारै जना पूर्वप्रधानमन्त्री कम्युनिस्ट पार्टीका हुन् । नेपालपाना


