१२ मंसिर २०८३, शुक्रबार

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न

एसीपी संवाददाता

२० असार २०७८, आईतवार ०६:३६ मा प्रकाशित

संखुवासभा — निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत पूरा भएको छ । तीन वर्षमा यति काम हुनुलाई आयोजनाले सन्तोषजनक मानेको छ । तर कामदार विवाद, हालसम्म कायमै मुआब्जाको किचलो, अज्ञात समूहका नाममा विस्फोटलगायत कारणले निर्माण कार्य पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

पछिल्लो पटक गत चैत २४ मा सुरुङभित्र एक कामदारको मृत्यु भएपछि त्यसको भोलिपल्टबाट काम ठप्प भयो । आयोजना स्थलमा रहेका निर्माण सामग्री तोडफोड पनि गरिए । अन्ततः २२ दिनपछि मजदुर, स्थानीय प्रशासन र भारतीय निर्माण कम्पनी सतलजअन्तर्गतको एसजेभिएनका प्रतिनिधिबीच सहमति जुटेपछि अहिले नियमित काम भइरहेको छ । यहाँ हाल १५ सयभन्दा बढी भारतीय र नेपाली मजदुर कार्यरत छन् । यसअघि आयोजनाको मुख्य कार्यालय, ड्यामसाइड र विद्युत्गृहमा ५ पटक विस्फोट गराइएको थियो । अहिले विद्युत्गृह र ड्यामसाइडमा सेना, सशस्त्र र नेपाल प्रहरीले अस्थायी क्याम्प राखेर सुरक्षा दिँदै आएका छन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमान भने ठूलो आयोजनामा यस्ता विवाद सामान्य भएको बताउँछन् । ‘ठूलो आयोजना हो, यस्ता प्रकारका मजदुर विवाद भइरहन्छन्,’ उनले भने, ‘यसलाई सामान्य रूपमा लिएका छौं । यो विवाद आयोजनासँग भन्दा पनि ठेकेदार कम्पनीसँगको हो ।’ सन् २००८ मा भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगमले प्रतिस्पर्धाका आधारमा यसको लाइसेन्स लिएको थियो । सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भयो । सन् २०२२ सेप्टेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

अहिलेकै गतिमा काम भए तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने धिमानको दाबी छ । उनका अनुसार उत्पादित विद्युत्लाई ढल्केबर प्रसारण लाइनमा पुर्‍याउन ट्रान्समिसन लाइन निर्माण प्रक्रिया पनि अघि बढिसकेको छ । सम्झौताअनुसार ढल्केबर प्रसारण लाइनमार्फत नेपाललाई छाडेर बाँकी विद्युत् भारतको मुजफ्फरपुर प्रसारण लाइनमा जोडिनेछ । अहिले संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ड्याम (बाँध) निर्माणको काम भइरहेको छ । नदीको बहाव परिवर्तन गरेर ड्याम निर्माणको काम अघि बढाइएको छ । ४ सय २३ मिटर लामो सुरुङको काम सकिएपछि नदी ड्राइभर्सन गरिएको हो । ड्याम ८० मिटर अग्लो हुनेछ ।

‘अत्यन्तै विकट क्षेत्र, सडकको असुविधा छ । कठिनाइ हुँदाहुँदै तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न हुनुलाई राम्रै उपलब्धिका रूपमा लिएका छौं,’ धिमानले भने, ‘अरुण नदीको पानीको बहाव परिवर्तन भइसकेको छ । सडक र विद्युत्गृह निर्माणको काम भइरहेको छ ।’ कोरोना महामारीका समयमा पनि सतर्कता अपनाउँदै लगातार काम भइरहेको उनले बताए ।

फ्याक्सिन्दादेखि दिदिङमा निर्माण हुने विद्युत्गृहसम्म पानी पुर्‍याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ खन्ने काम भइरहेको छ । ‘अहिलेसम्म मुख्य सुरुङमार्गको ५.७ किमि निर्माण भइसकेको छ,’ उनले भने । विद्युत्गृहसम्म पुग्ने छ्याङकुटीदेखि दिदिङसम्मको २८.६९ किमि सडकको ट्र्याक पनि खुलिसकेको छ ।

परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुनेछ । प्रभावित स्थानीयले १ अर्ब ६० करोडको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । उत्पादित विद्युत् निर्यात गर्न विद्युत्गृहदेखि नेपाल–भारत सीमा ढल्केबरसम्म (२१७ किमि) ४ सय केभी उच्च क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । जसको काम सुरु भइसकेको छ । ढल्केबर पुर्‍याउन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, धनुषा, महोत्तरी र सिरहा गरी ७ वटा जिल्लामा ५ सय ३० वटा टावर निर्माण हुनेछन् । यही लाइनबाट स्थानीयलाई निःशुल्क विद्युत् आपूर्ति गरिनेछ । प्रसारण लाइन बनाउन धनुषाबाहेकका जिल्लामा जग्गासम्बन्धी सबै समस्या समाधान भइसकेको छ । ढल्केवरमा जग्गा अधिग्रहणको काम सुरु भएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x