भारतले बिदेशबाट समेत खोप आयात गर्दै
विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भारतले बेलायत र अमेरिकामा विकास गरिएका कोरोनाविरुद्धको खोप ल्याउन पहल थालेको छ । भारत सरकारले फाइजर, मोर्डेना र जोन्सन एन्ड जोन्सन खोप आयात गर्नका लागि उच्च राजनीतिक र कूटनीतिक तहमा वार्ता थालेको छ ।
सरकारी स्रोतहरूले यसभन्दा अघि भारत फाइजर खोप आपूर्ति गर्न तयार भएकाले विदेशी खोप निर्माताहरूसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । मोडर्नाले यस वर्ष भारतलाई भ्याक्सिन आपूर्ति गर्न सक्षम नहुने बताइए पनि मोर्डेनासँग पनि विभिन्न चरणमा वार्ता भइरहेको जनाइएको छ ।
त्यसैगरि एक डोज लगाउँदा पनि प्रभावकारी हुने भनिएको जोन्सन एन्ड जोन्सन खोपले पनि भारतमा आयातका लागि पहल भइरहेको जनाइएको छ ।
भारत सरकारले यसअघि नै विदेशी खोपहरूका लागि आफ्नो नियमहरू परिमार्जन गरिसकेको छ । पहिले डब्लुएचओ र अन्य राष्ट्रिय नियामकहरूले अख्तियार गरेका खोपहरूलाई स्थानीय क्लिनिकल परीक्षण बिना भारतमा आपतकालीन प्रयोग प्राधिकरण नदिइने जनाइएको थियो ।
भारतमा हाल कोभिशिल्ड र कोभ्याक्सन खोपहरु लगाइरहेको छ । रुसको स्पुतनिक भी खोप पनि लगाउने तयारी थालेको छ । भारतमा हाल दैनिक ६० लाखभन्दा बढीलाई खोप लगाउन थालिएको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट बढी प्रभावित भएको भारतले खोप विकास र आयातलाई प्राथमिकतामा राखेको छ ।
यसअघि भारतले नेपाललगायतका विभिन्न मुलुकहलाई लाखौं डोज खोप सहयोग गरेको थियो ।


