१२ मंसिर २०८३, शुक्रबार

मधेसका माग सम्बोधन गराउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

एसीपी संवाददाता

५ श्रावण २०७८, मंगलवार ११:३३ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मधेसका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

केन्द्रीय कार्यालय बबरमहलमा प्रथम अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री देउवालाई मधेसका माग सम्बोधन गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘सर्वोच्च अदालतको फैसला बमोजिम साउन ३ गते देउवाद्वारा प्रतिनिधि सभामा विश्वासको मत लिनलाई औपचारिक रुपमा पत्राचार गरिएको अवस्थामा जसपाले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसंग सम्बन्धित माग मुद्दाहरुको साथै राजनीतिक अडानहरु: संविधानलाई सर्व स्वीकार्य बनाउन संशोधन, नेता/कार्यकर्ताहरु माथि लगाइएका झुठा मुद्दा फिर्ता, निलम्वित सांसद रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पूनर्संरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायतको समस्याहरुको समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो । तसर्थ उक्त माँग मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ,’ निर्णयपछि जारी विज्ञप्तिको बुँदा नम्बर १ मा उल्लेख छ ।

बैठकले अघिल्लो सरकारद्वारा माग मुद्दाहरु समाधानको लागि गरिएको सकारात्मक पहल स्वरुप केहि झुठा मुद्दाहरु फिर्ता, नागरिक्ता सम्बन्धी अध्यादेश जारी, संविधान संसोधन सम्बन्धी कार्यदलको गठन लगायतको कार्यको लागि निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी कोभिड-१९ (कोरोना) महामारीको चपेटामा समग्र विश्व नै रहेकोले यस प्रलयकारी समस्यासंग जुझनु सबैको साझा दायित्व भएकाले सम्पूर्ण नेपाली जनताको लागि तत्काल अनिवार्य निःशुल्क खोपको व्यवस्था गर्नुको साथै कोरोना महामारीवाट ज्यान गुमाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुको साथै गरिवी रेखा मुनि रहेका नागरिकहरुको लागि समेत आर्थिक राहतको प्याकेज अविलम्ब घोषणा गर्न सरकारसंग माग गर्ने निर्णय बैठकले गरेको छ ।

वर्षायाम शुरु भए देखि नै मुलुकको विभिन्न भू-भागमा बाढि, पहिरो र डुवानले गर्दा जनताले ज्यान

गुमाउनु परेको छ तथा हजारौं परिवारहरु घरवार विहिन भै विस्थापित हुन पुगेको अवस्थामा यस्तो प्राकृतिक विपदाको कारण ज्यान गुमाउन पुगेका परिवारहरु लाई राहत तथा क्षतिपूर्ति र घरवार विहिन भएका परिवारजनलाई उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको र किशानलाई उचित सिंचाई, उन्नत प्रविधि, विउ-विजन, मल खाद उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा पर्नु पर्नेमा जोड दिँदै किसानलाई तत्काल विउ-विजन, मलखाद यथेष्ट मात्रामा उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाउन ध्यानाकर्षण गर्दै खास गरेर तराई-मधेशको क्षेत्रमा मलखाद सहजताका साथ उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

नेपाल-भारत सिमाना भई आवत-जावतको सहजताको लागि आवश्यक प्रबन्ध गर्न पनि सरकारसँग माग गरेको छ ।

राज्यको सम्पूर्ण निकाय तथा संवैधानिक अंगहरुमा संवैधानिक व्यवस्था अनुसार पूर्ण समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्ति गर्न गराउन सरकारसँग माग गरेको छ ।

बैठकले सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुलजुहा (वकरईद) को हार्दिक शुभकामना व्यक्त गरेको छ ।

त्यसैगरी कोरोना महामारी र वाढी पहिरोवाट ज्यान गुमाएका नागरिकहरुको मृत आत्माको चीर शान्तिको कामना गर्दै बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ । तथा परिवारजनहरु प्रति हार्दिक सम्वेदना प्रकट गर्नुको साथै यस दुःखको घडीमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गरेको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x