उपेन्द्र यादवले सांसद पदबाट हटाउने निर्णय गर्दा पनि महन्त साथ छोडिनन
काठमाडौं । अहिले लुम्बिनी प्रदेशमा सांसद किनबेच प्रकरण बलियो भएर आएको छ । विमला वली पैसाकै कारण कहिले माओवादी त कहिले एमालेतिर लागिरहेकी छन् ।
माओवादीले ५५ लाख दिँदा त्यतातिर लागेकी विमलाले एमालेसँग १ करोड मागेकी थिइन् । त्यो नपाएपछि उनले आफूलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएको आरोप लगाएकी थिइन् ।
लुम्बिनीमा विमलाको ताण्डव चलिरहेका बेला यहीँ प्रदेशमै अर्की एक जना सांसदले उच्च नैतिकता देखाएकी छन् । उनी मर्न तयार भइन तर आफूलाई बनाउने नेताको साथ छोडिनन् । ति हुन् कल्पना पाण्डे ।
उनी शंकर पोखरेल सरकारमा मन्त्री पनि हुन् ।
कल्पना अहिले जीवन र मरणको दोसाधमा संघर्ष गरिरहेकी छन् । लुम्बिनीमा विकसित राजनीतिक घटनाक्रममा एक एक जना सांसदको महत्व यति बढेको छ कि एक जना मात्र सांसद तलमाथि हुँदा सत्ता ढल्ने अवस्था छ ।
यस्तोमा दुई समूहमा विभाजित जसपाको महन्थ ठाकुर पक्षको प्रतिनिधित्व गरिरहेकी कल्पनालाई आफ्नो खेमा परिवर्तन गर्न दैनिक करोडौ रुपैयाँको अफर र मन्त्री पदको प्रलोभन दिइयो ।
गम्भिर रोगबाट पीडित कल्पनाको उपचारमै दैनिक करिब डेढ लाख खर्च भइरहेको छ । मन्त्री पदको कुनै ठेगान छैन, कहिले जान्छ । उपेन्द्र यादवले आफ्नो पक्षमा ल्याउनका लागि प्रलोभन दिए । तर कल्पनाले नमानेपछि उनलाई दुई दुई पटक सांसद पदबाट हटाउने निर्णय उपेन्द्रले गरेका छन् ।
यदि सरकार ढल्यो भने उपचार खर्चको समस्या कल्पनालाई हुनेछ । यस्तोमा उनले उपेन्द्रको प्रस्ताव मानेर जीवन रक्षाका लागि कम से कम सांसद पद बचाउनुबाहेक उनीसँग अरु कुनै विकल्प थिएन । परिवारले पनि यो कुरा सम्झाउँदै उपेन्द्रको पक्षमा लाग्न दबाब दिएका थिए । कल्पनाकै पतिले उपचारका लागि पैसा आवश्यक भएकाले मन्त्री पदबाट राजीनामा दिएर सांसद पद जोगाउन र उपेन्द्रको प्रलोभन लिन दबाब दिएका थिए ।
तर कल्पनाको जवाफले पतिको आँखाबाट आँशु नै आयो । कल्पनाको आँखामा आँशु थियो । उनले रुँदै पतिलाई भनिन्, ‘म पैसा र पदको प्रलोभनमा न त खेमा बदल्छु न आफ्नो जीवन बचाउनका लागि महन्थ ठाकुरलाई धोका दिन सक्छु । यदि मेरो उपचारका लागि पैसा पुगेन भने केही छैन । मलाई मर्नका लागि छोडिदिनुस् । तर जुन महन्थ ठाकुरले मलाई सांसद बनाएर मेरो मान बढाए, यो स्थानमा पुर्याए, मन्त्री बनाएर सम्मान दिए, ति महान व्यक्तिलाई म पद पैसा र जीवन बचाउनका लागि छोड्न सक्दिन । चाहे मैले मर्नु नै किन नपरोस् ।’
कल्पनाको यो अडान लुम्बिनीका लागि सान्दर्भिक बनेको छ । तत्कालीन नेकपाबाट निर्वाचित विमला वलीको पद र पैसाका लागि देखाएको चटकले फोहोरी राजनीति बढिरहेका बेला कल्पनाजस्तो निष्ठावान र नैतिकवान अडानको महन्व झनै बढेको छ । नेपालपाना


