पाकिस्तानमा राज्यकै संरक्षणमा मन्दिर भत्काउने कार्यको निन्दा
काठमाडौ । सनातन धर्म महासंघ नेपालले पाकिस्तानमा राज्यकै संरक्षणमा मन्दिर भत्काउने कार्यको निन्दा गरेको छ ।
महासंघका प्रवक्ता राजन अधिकारीले विज्ञप्ति जारी गरेर पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका हुन् ।
विज्ञप्तिमा हिन्दुहरुको धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ । हिन्दुहरुको माथिको आक्रमण बन्द गर्न, दोषीलाई कारवाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
हिन्दुहरुको आस्थामाथिको आक्रमण रोक्न कडा कानुन बनाउन पनि माग गरिएको छ ।
महासंघले पाकिस्तानमा भएको घटनामा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकर्षण गराएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् र अन्य विश्व समुदायलाई अल्पसंख्यक हिन्दु समुदायको रक्षाका लागि बोल्न र पहल गर्न आग्रह गरिएको छ ।
केही दिन अघि पञ्जाब प्रान्तको रहीम यार खान जिल्लाको भोंग गाउँमा चरमपन्थीहरुको भीडले प्रहरीकै उपस्थितिमा हिन्दु मन्दिरमा हमला गरि तोडफोड गरेका थिए । मन्दिरमात्र तोडफोड नभएर मूर्तिहरुको पनि अपमान गरिएको र देवीदेवताहरुको पोस्टर अतिवादी तत्वहरुद्वारा जलाइएको थियो ।
यो घटनाको विभिन्न संघ संस्थाले विरोध जनाइरहेका छन् । नेपालपाना


