धनगढीका मेयर सहित पदाधिकारी स्वीकृति बिना रिपब्लिक कोरियाको भ्रमण
भदौ २७ गते २०७८ आइतबार । वीरेन्द्र भट्ट /
धनगढीः बैदेशिक भ्रमण अन्तर्गत दैनिक भ्रमण भत्ता नियमावली २०६४ को नियम ३ (५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि पदाधिकारी वा कर्मचारीले विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णका आधारमा भ्रमण गर्नुपर्ने व्यवस्था छ। तर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने मन्त्रिपरिषद्को निर्णय नगरी र सरकारको स्वीकृति बिना रिपब्लिक कोरियाको भ्रमण गरेको पाइएको छ।
बैदेशिक भ्रमणमा जानुअघि नियममा भएको व्यवस्थाअनुसार नेपाल सरकारको स्वीकृति लिनुपर्ने हो। तर मेयर वडले भने यी सबै व्यवस्थालाई लत्याएर कोरियाको भ्रमण गरेका छन्। त्यति मात्र होइन नियमावलीविपरीत गएर धनगढी उपमहानगरपालिकाका मेयरले कोरिया भ्रमणका क्रममा एक लाख ३० हजार खर्चसमेत गरेका छन्।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले धनगढीका मेयर मात्र नभई अन्य पदाधिकारी पनि त्यसैगरी कोरिया भ्रमणमा गएको बताए। ‘कानुनविपरीत भ्रमण भनेर चर्चा भएको थियो, तर हामीले यो विषयलाई सामान्य रुपमै लिएका थियौँ।’
उपमहानगरपालिकाले विदेश भ्रमणमा मात्रै होइन बैठक भत्ताको नाममा पनि रकम दुरुपयोग गरेको फेला परेको छ। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ को पहिलो संशोधनमा महिनाको बढीमा २ पटकसम्म बैठक भत्ता भुक्तानी गर्न सक्ने व्यवस्था छ। तर उपमहानगरपालिकाले ऐनको व्यवस्थाविपरीत दुई पटकभन्दा बढी भत्ता दिदै २६ लाख ८८ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
तोकिएको सीमाभन्दा बाहिर गएर लाखौँ रुपैयाँ उपमहानगरपालिकाका पदाधिकारीले भत्ता रकम बुझेका हुन्। धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले यो विषयमा आफूलाई खासै जानकारी नभएकाले सम्वन्धित फाँटमा बुझेर प्रतिक्रिया दिने बताइन्।
रोजगारीको हक सम्वन्धि नियमावली २०७५ को नियम १४ अनुसार गठित स्थानीय निर्देशक समितिका पदाधिकारीले बैठक बापतको भत्ता पाउने सम्वन्धि कुनै कुरा उल्लेख नगरेको अवस्थामा उपमहानगरपालिकाअन्तर्गत स्थानीय निर्देशक समितिका पदाधिकारीले नियमविपरीत गएर बैठक भत्ता बुझेका छन्। नियमविपरीत उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले ७ हजार ५ सय, उपमेयर शुशिला मिश्र भट्टले ६ हजार, नगर प्रवक्ता सन्तोष मुडभरीले ३ हजार, सहरी विकास तथा प्राविधिक शाखाम प्रमुख इन्जिनियर दीजराज भट्टले ७ हजार ५ सय, सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले एक हजार ५ सय, सत्यराज जोशीले ४ हजार ५ सय, चन्द्रबहादुर महराले ७ हजार ५ सय रुपैयाँ भत्ता बुझेका छन्।
तर उपमहानगरपालिकाकी उपमेयर भट्टले अबदेखि सबै विषय जानकारी लिएर मात्र काम गर्ने बताइन्। ‘मेयर सापको अध्यक्षतामा हुने कार्यक्रममा मलाई पनि बोलाउने गरिएको छ, तर भत्ताको विषयमा भने कानुनसम्मत तरिकाले नै दिएका होलान भन्ने हो, तर अबदेखि सवै विषय जानकारी राखेर मात्र अघि बढ्नेछौँ,’ उनले भनिन्। दिनेशखबर


