कोरोना संक्रमणबाट भेरीमा थप एकजनाको मृत्यु
५ गते असोज २०७८ मंगलबार । नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।
भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए ।
योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ ।
यसै बिच पछिल्लो दुई दिनमा विश्वभर कोरोना संक्रमितको संख्या केही घटेको छ ।
ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ९५५ जना संक्रमित थपिएका छन् । यसअघि दैनिक संक्रमितको संख्या आइतबार साढे ४ लाख र सोमबार ५ लाखको हाराहारीमा थियो ।
थपिनेमध्ये सबैभन्दा धेरै अमेरिकामा ३२ हजार ६३८, भारतमा ३० हजार ८०९, बेलायतमा २९ हजार ६१२, टर्कीमा २६ हजार ३९८ जना रहेका छन् । यसैगरी रुसमा २० हजार १७४ जना र ब्राजिलमा ९ हजार ४५८ संक्रमितको पहिचान भएको छ ।
यही अवधिमा ५ हजार ७०८ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्या रुसमा सबैभन्दा धेरै रहेको छ । त्यहाँ ७९३ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ३९१ जना, अमेरिकामा ३०९, भारतमा २९६, ब्राजिलमा २३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


