१२ आश्विन २०८३, सोमबार

ताईवानको लागि खुलेर अमेरिका आयो मैदानमा चीन माथी हमला गर्ने चेतावनी

एसीपी संवाददाता

५ कार्तिक २०७८, शुक्रबार ११:०२ मा प्रकाशित

५ गते कार्तिक २०७८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् ।

एक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो’, अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले भने ।

बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो समयदेखि लिँदै आएको नीतिसँग मेल खाँदैन । तर उनको अभिव्यक्तिलाई अमेरिकी नीतिमा आएको परिवर्तनको रुपमा बुझ्न नहुने ह्वाइट हाउसका एक प्रवक्ताले प्रस्ट पारेका छन् ।

त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत बताएका छन् । अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

ताइवानको सुरक्षासम्बन्धी पेचिलो मुद्दामा अमेरिकाले लामो समयदेखि ‘रणनीतिक अस्पष्टता’को नीति लिँदै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा आफूले चाल्ने कदमबारे अमेरिका जानीजानी अस्पष्ट छ भन्ने हो ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त ठान्छ र आवश्यक परे बलपूर्वक आफूमा गाभ्न सक्ने बताउँदै आएको छ । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ ।

ताइवानसँग अमेरिकाको औपचारिक कुटनीतिक सम्बन्ध छैन । यद्यपि, ताइवान सम्बन्ध ऐनअन्तर्गत अमेरिकाले ताइवानको सुरक्षा गर्ने उल्लेख छ र सोही प्रावधानबमोजिम हतियार बिक्री गर्दै आएको छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x