भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका अफगान नागरिकहरू पक्राउ
९ कार्तिक, काठमाण्डौं । भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका अफगान नागरिकहरूलाई पक्राउ गरिएको छ । जस पछि दक्षिणी सीमानाकाहरूमा सुरक्षाजाँचमा कडाइ गरिएको छ ।
गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपालमा बसोबास गरिरहेकोले परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरूलाई भाडामा नदिन अनुरोध गरेको हो ।
पक्राउ परेका ११ जना अफगान नागरिकहरू भारतबाट सुनौली हुँदै रूपन्देही जिल्लाको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए ।
गृह मन्त्रालयले सीमाका जिल्ला प्रशासन कार्यालयहरूलाई सुरक्षाजाँचमा कडाइ गर्न निर्देशन दिएको छ ।
भारततर्फ प्रवेश गर्दा सुरक्षाजाँच अनिवार्य रूपमा गर्नु परे पनि नेपाल आउन यससम्बन्धी कुनै प्रक्रिया पूरागर्नु पर्दैन। अर्थात् भारतको बाटो भएर जुन देशका नागरिक पनि नेपाल सजिलै प्रवेश गर्न सक्ने देखिन्छ ।
‘पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ,’मन्त्रालयले भनेको छ,’ पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ’ मन्त्रालयले भनेको छ ।
साथै, पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।


