राष्ट्रपति बनाउने माओवादी अध्यक्ष प्रचण्डको प्रलोभनमा पौडेलले सत्ता गठबन्धन बनाउन भूमिका खेलेको खुलासा
२४ गते कात्तिक २०७८ । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबन्दी गरेर दु:खमात्रै दिने नेताका रुपमा चिनिन्छन् ।
हालै सुजाता कोइरालाले आफ्नो व्यक्तिगत स्वार्थका लागि रामचन्द्रले गिरिजादेखि सुशील कोइरालासम्म र अहिले आएर शेरबहादुर देउवालाई दु:ख दिइरहेको खुलासा गरेकी थिइन् ।
रामचन्द्रसँग लामो समय संगत गरेकी सुजाताले उनको वास्तविक चरित्र बाहिर ल्याइसकेकी छन् । पद र व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने र लोकतन्त्र प्रजातन्त्र भनेर कराउने पौडेल नै हुन् । कसैले ललिपप दिए त्यसमा फुर्किहाल्ने असफल नेता पनि पौडेल नै हुन् ।
अहिले पौडेल सरकार सञ्चालनमा सहयोग गर्न गित ११ सदस्यीय समन्वय समितिको संयोजक बनेका छन् । पार्टीभित्र सभापति देउवालाई साथ दिनुको सट्टा हरेक ठाउँमा अत्तो थापेर असफल बनाउन सक्रिय पौडेल कसरी संयोजक बने भन्ने कुरा रोचक छ । त्यसो त प्रचण्ड र माधवसँग सत्ता गठबन्धन गर्नका लागि रामचन्द्र पौडेलले खुबै मेहनत गरे ।
सभापति देउवा तयार नहुँदा पनि राष्ट्रपति बनाउने माओवादी अध्यक्ष प्रचण्डको प्रलोभनमा पौडेलले सत्ता गठबन्धन बनाउन भूमिका खेले । एकातिर गठबन्धन बनाउन भूमिका खेले भने अर्कोतिर सरकार सञ्चालन गर्न नसकेको भनेर देउवाको सत्तोसराप गरे । अहिले चुनावी बढिरहेको छ । नेताहरु चुनावी तयारीमा लागिसकेका छन् । चुनाव नजिकिँदै गर्दा चुनावी गठबन्धनको चर्चा पनि चलेको छ । टुटेफुटेका कम्युनिस्टहरु गठबन्धन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
तर कांग्रेसका बहुसंख्यक नेताहरु कांग्रेस एक्लै चुनावमा जानुपर्ने कम्युनिस्ट हराउनुपर्ने पक्षमा छन् । तर प्रचण्डको राष्ट्रपतिको ललिपपमा फसेका, व्यक्तिगत स्वार्थ र सत्ता लोभलाई महत्व दिने पौडेल गठबन्धन गर्नुपर्ने कुरा गरिरहेका छन् । कतिसम्म भने पौडेल गठबन्धन नगरे एमालेलाई जित्न नसकिने तर्क गरिरहेका छन् ।
जबकी अबको चुनावमा माओवादी र एकीकृत समाजवादीको हैसियत खत्तम हुने निश्चित छ । यस्तो बेला आफ्नो अस्तित्व जोगाउन कांग्रेसको बर्को ओड्न खोजेका छन् । यो कुरा बुझेका सभापति देउवादेखि युवा नेता गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्मा सम्मले कांग्रेस एक्लै चुनाव लड्ने बताइरहेका छन् । तर एक थान राष्ट्रपतिको ललिपपमा पौडेल सिंगो कांग्रेसलाई भड्खालोमा पुग्नेगरी गठबन्धन गठबन्धन भनेर रटान लगाइरहेका छन् ।
पौडेलले केही समयअघघि भनेका थिए, ‘ ‘एमालेसंगको चुनावी प्रतिस्पर्धा सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भने, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिची अवस्थाले एमालेसँग लड्न सकिँदैन ।’
उनको भनाइको आशय माओवादी र माधव नेपालसँग चुनावी गठबन्धन हुनुपर्छ भन्ने थियो । उनले हालै पनि चुनावी गठबन्धन हुने बताइरहेका छन् । त्यसैगरी ११ सदस्यीय समन्वय समितिको संयोजक पनि चुनावी गठबन्धन बनाउने शर्तमा नै प्रचण्डकै जोडबलमा बनाइएको खुलेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको थियो । समितिमा पौडेल संयोजक तोकिएका हुन् । प्रचण्ड सदस्य छन् ।
आवरणमा प्रचण्ड सदस्य देखिए पनि यो समिति चलाउने नै प्रचण्ड हुन् । पौडेल त सेरेमोनियल अर्थात प्रचण्डको गोटी मात्रै भएको समितिकै सदस्यहरु बताउँछन् । यसको पछाडिको कारण राष्ट्रपति बनाउने प्रलोभन नै भएको एक कांग्रेस नेता बताउँछन् ।
‘रामचन्द्र दाईको प्रचण्डसँग हिमचिम बाक्लिएको छ । उहाँ पछिल्लो समय प्रचण्डकै लाइनमा हिँडेको, प्रचण्ड लाइन बोकेको देखिन्छ,’ एक युवा नेताले भने ।


