१२ मंसिर २०८३, शुक्रबार

देउवा सरकारको साहसिक कदम , परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा ई-पासपोर्टको औपचारिक वितरण शुरु

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार ०१:४९ मा प्रकाशित

३ गते मंसिर २०७८ । सरकारले विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार ई-पासपोर्टको औपचारिक वितरण सुरु गरेका हुन् ।

पहिलो पासपोर्ट उनले त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित एक कार्यक्रममा १०२ वर्षीय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरे ।

डिजिटल एवं बायोमेट्रिक राहदानीको रुपमा चिनिने पासपोर्टलाई शेरबहादुर देउवा सरकारले कार्यान्वयनमा ल्याएको हो । यो पासपोर्ट कार्यान्वयनमा आएसँगै अब केही सहजता हुनेछ ।

परराष्ट्रमन्त्री खड्काले सरकारले अन्तर्राष्ट्रियरुपमै राम्रो मानिएको पासपोर्ट ल्याएको भन्दै अब यसको सम्मान गर्ने दायित्व नागरिकको हातमा रहेको बताए । पासपोर्टको सम्मान मुलुकको पनि सम्मान भएको उनको भनाइ छ ।

सर्वसाधारणले ७७ वटै जिल्ला, ४० वटा नियोग र १८ वटा इलाका प्रशासन कार्यालयबाट पासपोर्ट पाउन थाल्नेछन् । राहदानी विभागले केही सातासम्म ई-पासपोर्टलाई सीमितरुपमा वितरण गर्ने र जरुरी परेकालाई भने एमआरपी पासपोर्ट नै दिने जनाएको छ ।

ई-पासपोर्टलाई सुरक्षा, डिजाइन र अन्य विशेषताको कारण एसियामै उत्कृष्टमध्ये रहेको जनाएको छ । आइकाओले ई-पासपोर्टलाई संसारमै सुरक्षित पासपोर्टको रुपमा परिभाषित गरेको छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो मानिन्छ ।

ई-पासपोर्टमा मोबाइलमा जस्तै विद्युतीय ‘चिप’ र ‘एन्टेना’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ ।

यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ । ई-पासपोर्ट प्रयोगमा आएपछि राहदानीको दुरुपयोग रोकिने छ । एक देशमा अपराध गरेर अर्को देशमा जान खोज्ने अपराधीलाई अध्यागमनमै रोक्न सकिने र इन्टरपोललाई पनि सजिलो हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x