रूसी राष्ट्रपति पुटिन भारत भ्रमणमा आउदै , सुरक्षा सम्झौता सहित विषयमा वार्ता हुने
११ गते मङ्सिर २०७८ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउने भएका छन् । भारत—रूस बार्षिक सम्मेलनमा सहभागी हुन पुटिन डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको छ। उनीहरूका बीचमा सन् २०१९ पछि पहिलोपटक भेटवार्ता हुने भएको हो । यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।
भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने जनाइएको छ । त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्वन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भने, “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ ।”
“२१ औँ भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ आउनुहुने भएको हो र सो अवसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ,” प्रवक्ता बागचीले थपे । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उनले दुई देशबीचमा सम्वन्ध थप मजबुत बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरे ।
उनीहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासो र सरोकारका विषयमा समेत छलफल गरेर समान धारणा र योजना बनाउन प्रयास पनि गर्ने प्रवक्ता बागचीको भनाइ छ ।
रूस र भारतले हरेक वर्ष यस्तै वार्षिक सम्मेलन गर्दै आएका छन् । यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को वार्षिक सम्मेलन रुसमै भएको थियो । त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रूसका रास्ट्रपतिलाई बोलाएका हुन ।
परराष्ट्र मन्त्रालयले भन्यो– भारतले राष्ट्रिय सुरक्षा हितमा रक्षा खरिद गरेको हो
विदेश मन्त्रालयले भारतको स्वतन्त्र परराष्ट्र नीति रहेको र यसको रक्षा खरिद राष्ट्रिय सुरक्षा हितद्वारा निर्देशित भएको बताएको छ। रुसबाट S-400 क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दा अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउन सक्ने आशंकाका बीच विदेश मन्त्रालयको यो प्रतिक्रिया आएको हो। बागचीले पत्रकारहरुलाई सो कुरा बताए । बागचीलाई यस विषयमा भारतको प्रतिक्रियाको बारेमा सोधिएको थियो। रुस, भारत र चीनका विदेशमन्त्रीको बैठकमा यो विषय उठेको हो कि भनेर पनि सोधिएको थियो ।


