धर्मनिरपेक्षता भन्ने शब्द कम्युनिस्ट फिलोसोपी गाइडेड हो , यो कम्युनिस्टको एजेण्डा हो अब काङ्ग्रेसले सनातन धर्मको रक्षा गर्नु पर्छ – साउद
२४ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा हिन्दु राष्ट्र पनि एजेण्डा बनेको छ ।
खासगरी खुमबहादुर खड्का निकट र महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रताको कुरा उठाउँदै आएका छन् ।
यसअघि कांग्रेसको महासमिति बैठकमा आठ सय महासमिति सदस्यहरूले नेपाल हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । यसबारे नेतृत्व तहमा छलफल पनि भएको थियो ।
तर धार्मिक आस्थाको विषय मतदानको विषय बनाउनुभन्दा छलफलबाटै सहमतिमा टुंग्याउनुपर्छ भन्ने निष्कर्षमा कांग्रेस पुगेको थियो । अहिले महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धर्मसम्बन्धी बहस चर्को रुपले उठेको छ ।
खुमबहादुर समूह र शशांकसँगै महामन्त्रीका दाबेदार प्रभावशाली नेता एनपी साउद पनि धर्म निरपेक्षताको विपक्षमा उभिएका छन् । साउदले हिन्दु राष्ट्रलाई बल पुग्नेगरी धर्म निरपेक्षता हटाउनुपर्ने, सनातन हिन्दु धर्मको रक्षा हुनेगरी धार्मिक स्वतन्त्रता कायम हुनुपर्ने एजेण्डा उठाएका छन् ।
धर्मनिरपेक्षता भन्ने शब्द कम्युनिस्ट फिलोसोपीबाट गाइडेड भएको, कम्युनिस्टको एजेण्डा भएको भन्दै साउदले प्रजातन्त्रवादीहरुले सनातन धर्मको रक्षा गर्नुपर्नेमा जोड दिए ।
कम्युनिस्टले धर्मलाई अफिमसँग तुलना गरेर धर्मको अस्तित्वलाई स्वीकार नगर्ने गरेको भन्दै साउदले प्रजातन्त्रवादीहरू सनातन मूल्य पद्धतिसँग जोडिएका हुनाले, नेपालमा हिन्दू मूल्यमान्यतासँग जोडिने बताए । यसको संरक्षण र संवर्द्धनको दायित्व राज्यले लिनुपर्ने उनको मान्यता छ ।
अन्य धर्मावलम्बीको पनि धार्मिक स्वतन्त्रता हुनुपर्ने, उनीहरूको धर्मलाई पनि संरक्षण गर्नुपर्ने भन्दै साउदले हिन्दु बाहुल्य भएको देशमा धार्मिक स्वतन्त्रता लेखेर सनातन हिन्दू धर्मको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए । पार्टीभित्रको यो बहसलाई अगाडि बढाएर निष्कर्षमा पुर्यारउनुपर्ने उनको राय छ ।


