१२ मंसिर २०८३, शुक्रबार

आर्थिक कूटनीतिमा राजदूत शर्माको जोड

एसीपी संवाददाता

३० असार २०७९, बिहीबार ०९:५८ मा प्रकाशित

नेपालमा लगानीमैत्री वातावरण रहेको आश्वस्त पार्न भारतका उद्योगी व्यवसायीसँग निरन्तर अन्तर्क्रिया

नयाँ दिल्ली — भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले ‘इकोनोमी डिप्लोमेसी’ (आर्थिक कूटनीति) लाई प्राथमिकताका साथ अघि बढाएका छन् । उनले भारतका उद्योगी, व्यापारी तथा लगानीकर्ताहरूलाई नेपालमा रहेको लगानी तथा व्यापारका अवसर तथा सम्भावनाबारे जानकारी दिइरहेका छन् ।

एक महिनायता मात्रै शर्माले भारतका उद्योगी व्यवसायीका प्रमुख तीन संस्थाले नेपाल सम्बन्धमा आयोजना गरेका अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गरेका छन् । बुधबार उनले फेडरेसन अफ इन्डियन चेम्बर्स एन्ड इन्डस्ट्री (फिक्की) को कार्यालय पुगेर भारतीय उद्यमी, व्यवसायीहरूलाई भने, ‘नेपालमा लगानीका लागि प्रशस्तै सम्भावनाहरू छन् । सरकारले धेरै विषयमा सहुलियतहरू पनि प्रदान गरेको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका शर्मा अर्थशास्त्री हुन् । आर्थिक विषयमाथिको पकडले उनलाई ‘आर्थिक कूटनीति’ लाई अघि बढाउन मुद्दत पुर्‍याएको छ । दूतावासमा पनि भारतीय उद्योग जगतका व्यक्तिहरूले उनलाई भेटिरहेका हुन्छन् । यसअघि पीएचडी चेम्बर र द एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियासँग सहकार्य गरेर शर्माले दुईवटा बृहद् अन्तर्क्रियाको आयोजना गराइसकेका छन् । ती अन्तर्क्रियामा नेपालसँग व्यापार गर्ने, लगानी गरेका र गर्न चाहने इच्छुक उद्यमी व्यसायीहरूको बाक्लो उपस्थिति थियो । सबै कार्यक्रममा शर्माले भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त थलो हुने दाबी गर्दै आएका छन् ।

दूतावासका इकोनोमिक काउन्सिलर बद्री तिवारीले राजदूतका रुपमा शर्माको आगमनपछि आर्थिक क्रियाकलापसम्बन्धी छलफल र अन्तर्क्रियाहरू बढेको बताए । ‘उहाँले भारतीय लगानीकर्ता तथा उद्यामी, व्यवसायीलाई नेपालको पक्ष बुझाउने प्रशस्तै प्रयास गरिरहनुभएको छ,’ उनले भने ‘संस्थागत रूपमा भारतका उद्यमी व्यवसायीका प्रमुख तीनवटा संस्थामार्फत सयौं व्यवसायीसँग उहाँले एक महिनायता अन्तर्क्रिया गरिसक्नुभएको छ ।’

बुधबार फिक्कीसँगको अन्तर्क्रियामा राजदूत शर्माले भारतीय लगानीकर्तालाई नेपालसँग जोडिन आग्रह गरे । विदेशीले न्यूनतम ५ करोड रुपैयाँको लगानी गर्नुपर्नेमा अहिले त्यसलाई घटाएर २ करोड बनाइएको, लगानीको बिमा, घाटा भएको अवस्थामा सरकारले आवश्यक राहत दिने, मजदुरहरूको सामाजिक सुरक्षाको व्यवस्था तथा हडताल लगायतमाथि प्रतिबन्धात्मक व्यवस्था गरिएको उनको भनाइ थियो । उनले नेपाल सरकारले लगानीमैत्री कानुन र नीति तथा आवश्यक पूर्वाधारको निर्माणमा जोड दिएको उल्लेख गरे ।

सीमा क्षत्रेमा नेपालतर्फ सडकलगायत भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएकाले भारतसँगको व्यापारलाई सहज बनाउने उनले बताए । भारत सरकारको सहयोगमा ५ स्थानमा संयुक्त भन्सार चेक पोस्ट निर्माण भइरहेको र त्यसमध्ये २ वटाले काम थालिसकेकाले सीमा क्षेत्रमा यस्ता पूर्वाधारहरूले व्यापारलाई सहजिकरण गर्ने उनले उल्लेख गरे । अन्तर्क्रियाहरूमा नेपालको सस्तो श्रम बजार, लगानीमैत्री कानुन, पूर्वाधार तथा ऊर्जाको व्यवस्था, लगानीकर्ताले मुनाफा लैजान पाउने जस्ता विषयहरूबारे राजदूत शर्माले भारतीय उद्यमी व्यसायीहरूलाई जानकारी गराइरहेका छन् ।

केही महिनायता भारतमा नेपाल पनि श्रीलंकाको पथमा गइरहेको संशय व्याप्त छ । शर्माले भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’ मा आफ्नो लेखमार्फत त्यस शंकालाई चिर्ने कोसिससमेत गरेका थिए । हरेक अन्तर्क्रियाहरूमा नेपाल श्रीलंकाको बाटोमा नरहेको उनले भन्दै आएका छन् । फिक्कीको अन्तरर्क्रियामा पनि उनले नेपालले समयमै विभिन्नखाले सतर्कताहरू अपनाइसकेको र त्यसले सकारात्मक संकेतहरू दिएको उनले बताए । ‘हामी श्रीलंकाको बाटोमा जाँदैनौ, यही महिना नै विदेशी रकम सञ्चितिमा सकारात्मक संकेतहरू आइसकेको छ,’ भारतीय लगानीकर्तालाई आश्वास्त पार्दै उनले भने, ‘केही समयभित्रै आयातमा प्रतिबन्ध लगाइएका धेरै वस्तुहरूको फुकुवा नेपालले गर्नेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला पनि यहाँको अर्को ठूलो संस्था कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले उद्योगी व्यवसायीसँग अन्तरर्क्रिया गराएको थियो । त्यसमा पनि राजदूत शर्माले केही महिनाभित्रै दुवै मुलुकका प्रधानमन्त्रीहरूको एक अर्का मुलुकमा भएको भ्रमणले ‘ज्वाइन्ट भेन्चर’ परियोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने बाटो प्रशस्त गरेको बताएका थिए । उनले जलविद्युत् उत्पादनका क्षेत्रमा शतलजसहित धेरै भारतीय कम्पनीले नेपालमा लगानी गरेर काम गरिरहेको उनको भनाइ थियो ।

जलविद्युत् उत्पादन, प्रसारण लाइन निर्माण र त्यसको व्यापारमा दुई देशबीच सहकार्य भइरहेको उनले उल्लेख गरेका थिए । दुई देशबीचको द्विपक्षीय समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा प्रशस्तै सम्भावना देखिएको र दुवै देशले त्यसको लाभ उठाउन सक्ने वातावरण तयार भएको उनको भनाइ थियो ।

राजदूत शर्माले उद्योगी, व्यवसायीहरूसँगको अन्तर्क्रियाले उनीहरूको भोगाइ र बुझाइ सुन्ने अवसर प्राप्त हुने र त्यसलाई सम्बोधनको मौका मिल्ने गरेको कान्तिपुरसँग बताए । ‘अन्तर्क्रियाले एक–अर्काबीचको दूरीलाई साँघुरो बनाउन निश्चय पनि मद्दत गर्छ,’ उनले भने, ‘यसले ट्रेड इन्भेस्टलाई सजिलो बनाउँछ ।’ उनले यस्ता कार्यक्रमहरूको ‘मल्टिपल इफेक्ट’ पर्ने गरेको उनले बताए ।

‘भिजिविलिटी र स्ट्रेन्थ दिन्छ नै, सम्पर्कको क्षेत्र पनि बढ्छ,’ उनले भने ‘भूकम्प र कोरोना महामारीका कारण पछिल्लो केही वर्षमा धेरै मानिसहरू नेपाल गएका छैनन् । तिनलाई हाम्रो नयाँ नीति, नियम, कानुन र अवसरहरूबारे जानकारी चाहिएको देखिन्छ ।’ समग्रमा नेपालमा लगानीको अवसर र वातवारण छ भन्नेतर्फ लगानीकर्ताको ध्यानाकर्षण गराउने प्रयास थालिएको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x