बुधबार चौथो चरणको मतदानमा पनि निवर्तमान अर्थमन्त्रीसमेत रहेका भारतीय मूलका ऋषि सुनाकले १ सय १८ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा पेनी मोर्डन्टले ९२ र तेस्रो स्थानमा लिज ट्रसले ८६ मत पाएका छन् । प्रतिस्पर्धाबाट बाहिरिएकी केमी ब्याडनकले ५९ मत प्राप्त गरेकी छन् ।
सोमबार सम्पन्न तेस्रो चरणको मतदानको तुलनामा मंगलबार चौथो चरणमा सुनाकले ३, मोर्डन्टले १० र र ट्रसले १५ मत बढाएका छन् । बुधबार हुने पाँचौं चरणको मतदानमा सबैभन्दा थोरै मत ल्याउने अर्को उम्मेद्वार पनि बाहिरिएपछि प्रतिस्पर्धामा अन्तिम दुई बाँकी रहनेछन् ।
त्यसपछि देशभरका पार्टी सदस्यको मतका आधारमा विजयी हुने प्रतिस्पर्धी पार्टीको नेता हुँदै बेलायतको प्रधानमन्त्री बन्नेछन् । नेता चयनको प्रक्रिया पूरा भएसँगै आगामी सेप्टेम्बर ५ मा बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ ।


