अन्नलाई लिएर रुस र युक्रेनबीच भयो महत्त्वपूर्ण सम्झौता, टर्कीमा निगरानी सेन्टर
खाद्यान्यको आपूर्तिलाई लिएर रुस र युक्रेनबीच महत्त्वपूर्ण सम्झौता भएको छ । ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा युद्धरत दुई देशले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचा संस्थाहरूले लेखेका छन् । चार महिना मान्य हुने सम्झौतानुसार युक्रेनबाट अब गहुँ र मकैको निर्यात चाँडै सुरु हुने छ ।
बीबीसीका अनुसार रुसले समुन्द्रको बाटोमार्फत अन्नको ढुवानी गर्ने मालबाहक जहाजमाथि आक्रमण नगर्ने बताएको छ । अन्नको आपूर्ति हुने बन्दरगाहहरूमा पनि हमला नगर्ने बाचा रुसले गरेको छ ।
संयुक्त राष्ट्र संघले यसलाई ऐतिहासिक सम्झौता भनेको छ । सम्झौताअन्तर्गत युक्रेन पनि केही सर्तहरू मान्न तयार भएको छ । उसले खाद्यान्न आपूर्ति गर्ने जलपोतहरूको जाँच अनुमति दिनुपर्ने छ । अन्नका नाममा कतै हतियारको सप्लाइ त भइरहेका छैन ? रुसले यसका लागि जाँच गर्न पाउनुपर्ने सर्त राखेको थियाे ।
रुस र युक्रेनबीचको यो सम्झौता टर्कीको इस्तान्बुलमा आयोजित एक समारोहमा भएको हो । सम्झौताबारे टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआनले दुवै देशबीच भविष्यमा मिलनको बाटो खुल्नसक्ने प्रतिक्रिया दिए ।
निगरानी सेन्टर टर्कीमा
सम्झौताअनुसार, रुस र युक्रेन अन्न लिएर जाने जहाजहरूलाई ब्ल्याक सि मा सुरक्षित बाटो दिन राजी भएका छन् । यी जहाजको बाटोमा अड्चन नआओस् भनेर साथमा युक्रेनको सुरक्षा दस्ता पनि जाने छ । यो दस्ताले समुन्द्रमा बिछ्याइएको बारुदी सुरुङबाट बच्न मद्दत गर्ने छ । बाटोमा राखिएको बारुदी सुरुङ हटाउनुपरेमा यो काम तेस्रो देशले गर्ने छ । अर्थात यसमा रुस र युक्रेन प्रत्यक्ष सामेल हुन नपाउने सम्झौता छ ।
सम्झौताबमोजिम खाद्यान्न सप्लाइमा समन्वय र निगरानीका लागि इस्तान्बुलमा एक सेन्टर बनाइने छ । यसमा संयुक्त राष्ट्र संघ, टर्की, रुस र युक्रेनका अधिकारी काम गर्नेछन् ।


