एसिया देशका लागि शुभ संकेत , को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?
अन्तिम दौडमा रहेका ऋषि सुनाक सांसदहरुबीच र लिज ट्रस पार्टी सदस्यमाझ लोकप्रिय
लन्डन — बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयाँ नेता चुन्न ५ चरणको मतदानपछि अन्तिम दुईमा आइपुगेका छन् ऋषि सुनाक र लिज ट्रस ।
नयाँ नेता नै देशको प्रधानमन्त्री हुने भएकाले अब वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई कसले प्रतिस्थापन गर्ला भन्ने चासो बेलायती राजनीतिमा बढेको छ । तर त्यसको निर्णय भने कन्जरभेटिभ दलका सदस्यहरूको हातमा छ । करिब १ लाख ६० हजार सदस्यले मतदान गरेर एक जनालाई पार्टी नेतासँगै प्रधानमन्त्रीको अभिभारा दिनेछन् ।
पार्टीका ३ सय ५८ सांसदद्वारा बुधबार गरिएको पाँचौं चरणको मतदानमा सबैभन्दा थोरै मत पाउने पेनी मोर्डन्ट बाहिरिएसँगै पहिलो र दोस्रो स्थानका सुनाक र ट्रस अब पार्टीका सदस्यहरूले भोट गर्ने अन्तिम राउन्ड प्रवेश गरेका छन् । सुनाक निवर्तमान अर्थमन्त्री र ट्रस विदेशमन्त्री हुन् ।
पछिल्लो चरणको मतदानमा सुनाकले यसअघिका सबै चरणमा जस्तै सर्वाधिक मत प्राप्त गरेका थिए । सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थानमा रहँदा दोस्रो बढी मत पाउने ट्रसले १ सय १३ मत पाइन् । १ सय ५ मत पाएकी पेनी मोर्डन्ट प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
यसअघिका चारवटै चरणमा दोस्रो स्थान ओगट्न सफल मोर्डन्टलाई अन्तिम राउन्डमा पछि पार्दै ट्रसले फाइनल दुईमा आफ्नो स्थान बनाउन सफल भएकी हुन् । अन्तिम दुईमा पर्न सफल ऋषि सुनाक र लिज ट्रसमध्ये पार्टीका बढी सदस्यहरूको रोजाइमा पर्ने उम्मेदवार आगामी सेप्टेम्बर ५ मा कन्जरभेटिभ पार्टीको नेता घोषणा हुनेछन् । कन्जरभेटिभ पार्टीले आगामी अगस्ट १ देखि ५ सम्म सम्पूर्ण सदस्यहरूसम्म मतपत्र पुर्याइने र सेप्टेम्बर २ को साँझ ५ बजेसम्म प्राप्त हुने जनाएको छ ।
पार्टी सदस्यहरूले पोस्टल माध्यमका साथै अनलाइन भोटिङमार्फत पनि मत व्यक्त गर्न सक्नेछन् । सुनाकलाई पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरका कोषाध्यक्ष लर्ड ल्यामन्ट, पूर्वउपप्रधानमन्त्री डोमिनिक राव, पूर्वस्वास्थ्यमन्त्री जेरेमी हन्ट, यातायातमन्त्री ग्रान्ट स्याप्स्, सांसद रेमन चिस्ती, कन्जरभेटिभ पार्टी पूर्वअध्यक्ष ओलिभर डोडेनजस्ता प्रभावशाली नेताले साथ दिएका छन् भने ट्रसको अभियानमा ब्रेक्जिट मन्त्री ज्याकोव रिस मोग, संस्कृतिमन्त्री नदिन डोरिस, व्यापारमन्त्री क्वासी क्वारटेङ, टोरीका पूर्वलिडर इयान डंकन स्मिथ, यस पटककै पार्टी दौडमा बाहिरिएकी एटोर्नी जनरल सुयला ब्रेभरम्यान, साइमन क्लार्कलगायतले समर्थन गरेका छन् । यो पनि समाचार – भारतिय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्कापक्की
४२ वर्षीय सुनाक सांसदहरूबीच लोकप्रिय भए पनि पार्टी सदस्यहरूमाझ भने ४६ वर्षीया ट्रसले विश्वास जित्ने कतिपय सर्वेक्षणले देखाएका छन् ।
यूगोभको सर्वेक्षणमा कन्जरभेटिभ सदस्यहरूमाझ ट्रस ६२ प्रतिशतसहित निकै अगाडि देखिएकी छन् भने सुनाकको जम्मा ३८ प्रतिशत मत छ । बुकिज (सट्टेबाज) हरूले पनि लिजलाई फेभरेट बनाएका छन् ।
दुई प्रतिस्पर्धी मतदाता आकर्षित गर्न अब केही साता विभिन्न बहसमा सहभागी हुनेछन् । उनीहरूबीच बीबीसीमा २५ जुलाई र स्काई न्युजमा ४ अगस्टमा बहस तय भएको छ ।
कसको एजेन्डा के ?
सुनाकले कर्पोरेसन करको दायरा १९ बाट २५ प्रतिशत पुर्याउने, बन्दरगाह रहेको स्थानमा व्यापारिक केन्द्र बनाउने, बैंक तथा वित्तीय संस्थाहरूको पुनःसंरचना, स्वास्थ सेवामा थप लगानी, मुद्रास्फीति नियन्त्रणमा आएपछि सन् २०२४ को अन्तमा कर कटाउनेलगायत एजेन्डा अघि सारेका छन् ।
शनिबार पार्टी सदस्यहरूमाझ आफ्नो अभियान सुरु गर्दै सुनाकले प्रतिपक्षी लेबरलाई आउँदो चुनावमा पराजित गर्न सक्ने, युनियनको रक्षा र ब्रेक्जिट सुरक्षित राख्न सक्ने आफू एकमात्र सक्षम उम्मेदवार भएको दाबी गरेका थिए । यो पनि समाचार – चीन घरेलु र विश्वव्यापी सुरक्षाका लागि “नम्बर एक खतरा”हो = सुनक
उता, ट्रसले भने ३० अर्ब पाउन्ड बराबरको कर तुरुन्त कम गरी जनजीविका सहज पार्ने, ब्रेक्जिटमा भइरहेको उत्तरी आयरल्यान्डको झमेला अन्त्य गर्ने र कर्पोरेसन कर वृद्धिले लगानी कम र रोजगारी घट्ने हुंदा कर कटाउन आवश्यक भएको जिकिर गरेकी छन् । १.५ प्रतिशत एनआई र इनर्जी कर पनि घटाउने उनको योजना छ । ट्रसले आगामी निर्वाचनका लागि आर्थिक विषय प्रमुख मुद्दा हुने भन्दै बेलायत करको सवालमा गलत दिशामा गइरहेको बताएकी छन् ।
बेलायतको युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्यान्डमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठक सुनाकको एजेण्डाले अर्थतन्त्रमा तत्कालभन्दा दीर्घकालीन रूपमा राम्रो गर्ने बताउँछन् । ट्रसले अघि सारेका एजेन्डाप्रति अर्थशास्त्रीहरू विरोधमा रहेका जनाउँदै पाठकले उनको एजेन्डाले बेलायती अर्थतन्त्रमा एक वर्षमा ३६ बिलियन पाउन्ड डिफिसिट हुने बताए । ‘तर लिजको पोलिसीले कष्ट अफ लिभिङ समस्या सम्बोधन र आउँदो चुनावमा कन्जरभेटिभ पार्टीलाई लेबरसँग प्रतिस्पर्धा गर्न सजिलो हुने भएकाले उनी सदस्यहरूमाझ लोकप्रिय देखिन्छिन्,’ पाठकको बुझाइ छ ।
पाठकका भनाइमा दुईमध्ये जो प्रधानमन्त्री भए पनि उनीहरूको कार्यकाल चुनौतीपूर्ण हुने देखिन्छ । खस्कँदो अर्थतन्त्र सुधार, युरोपसँगको सम्बन्ध सुदृढ, आप्रवासी समस्या समाधान, रुस युक्रेन युद्धका कारण देखिएको उर्जा संकट अन्त्य तथा स्कटल्यान्डले अलग हुन फेरि जनमत संग्रह गर्न माग गरेकाले त्यो रोक्न त्यति सहज भने छैन । एजेन्सी


