चुनाव ४ मंसिरमा, के छ दलहरूको तयारी ?
संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णयसँगै प्रमुख दलहरू चुनावको रणनीतिक तयारीमा जुटेका छन्, सत्तागठबन्धनभित्रका दल सिट बाँडफाँडको अनौपचारिक गृहकार्यमा लागेका छन् भने प्रमुख प्रतिपक्षी एमाले शक्ति सन्तुलनको विश्लेषणसहित चुनावी एजेन्डा निर्क्योलको तयारीमा छ
सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा एकै चरणमा गर्ने निर्णय गरेको छ । ०७२ मा संविधान जारी भएपछि दोस्रोपटक संघ र प्रदेशको निर्वाचन हुँदै छ । ०७४ मा १० र २१ मंसिरमा गरी दुई चरणमा निर्वाचन भएको थियो ।
संसद्को कार्यकाल भने उम्मेदवारको मनोनयनपूर्वसम्म कायम रहने सरकारको भनाइ छ । ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन ४ मंसिरमा एकै चरणमा सम्पन्न गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
ज्ञानेन्द्रबहादुर कार्की, सरकारका प्रवक्ता
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन ४ मंसिरमा एकै चरणमा सम्पन्न गर्ने मन्त्रिपरिषद्को निर्णय छ । संसद्को कार्यकालका विषयमा छलफल चलिरहेको छ । सामान्यतया अहिले हाम्रो बुझाइ जुन वेला प्रतिनिधिसभाका सदस्य, सभामुख र उपसभामुखले निर्वाचनका निमित्त उम्मेदवारीको मनोनयन गर्नुहुन्छ, त्यसपछि यसको कार्यकाल समाप्त हुनेछ भन्ने छ ।
संसद्को कार्यकालका विषयमा छलफल चलिरहेको छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सामान्यतया अहिले हाम्रो बुझाइ जुन वेला प्रतिनिधिसभाका सदस्य, सभामुख र उपसभामुखले निर्वाचनका निमित्त उम्मेदवारीको मनोनयन गर्नुहुन्छ, त्यसपछि यसको कार्यकाल समाप्त हुनेछ भन्ने छ ।’
सत्तागठबन्धनका शीर्ष नेताहरूको बुधबारको छलफलमा एकै चरणमा निर्वाचन गर्ने गरी ४ मंसिरमा निर्वाचन गर्ने सहमति बनेको थियो । त्यसैअनुसार मन्त्रिपरिषद्ले बिहीबार निर्वाचन घोषणा गरेको हो । यससँगै दलहरू चुनावी रणनीति बनाउन लागेका छन् । गत ३० वैशाखमा स्थानीय तह निर्वाचन पनि एकै चरणमा भएको थियो ।
निर्वाचन आयोगले सरकारको निर्णय अपेक्षित भएको प्रतिक्रिया दिएको छ । आयोगले निर्वाचनका लागि बाँकी एक सय सात दिन निर्वाचन सम्पन्न गर्न केन्द्रित हुने बताएको छ । तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको आयोग पदाधिकारीले बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन घोषणाअघि नै आयोगले तयारी अगाडि बढाएको र अनौपचारिक रूपमा भएका निर्वाचन तयारीलाई औपचारिकता दिने बताए । ‘निर्वाचनमा कुनै पनि विषयमा सवाल नउठ्ने गरी आयोगले आवश्यक तयारी गरेको छ । यी काम त्यसरी नै अगाडि बढ्छन्,’ निर्वाचन घोषणापछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आयोगलाई निर्वाचनका लागि एक सय सात दिन मात्रको अवधि भए पनि अर्जुनदृष्टि लगाएर काम गर्छौँ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन केन्द्रित हुन्छौँ ।’
मतदाता नामावली स्थगित, दल दर्ता प्रक्रिया तत्कालै थालिने
आयोगले शुक्रबारबाट मतदाता नामावली संकलन स्थगित हुने बताएको छ । तर, अनलाइन आवेदन दिएकाको हकमा भने औँठा छाप र फोटो खिच्न २१ साउनसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले तत्कालै दल दर्ता, मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन हुने बताए ।
४ मंसिरलाई अर्जुनदृष्टि लगाएर काम गर्छौँ : दिनेश थपलिया, प्रमुख निर्वाचन आयुक्त
निर्वाचनमा कुनै पनि विषयमा सवाल नउठ्ने गरी आयोगले आवश्यक तयारी गरेको छ । यी काम त्यसरी नै अगाडि बढ्छन् । आयोगलाई निर्वाचनका लागि एक सय सात दिन मात्रको अवधि भए पनि अर्जुनदृष्टि लगाएर काम गर्छौँ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन केन्द्रित हुन्छौँ ।
आयोगले निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गर्ने, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना गर्ने, निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण संकलन र आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने जानकारी दिएको छ ।
यस्तै, निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया प्रारम्भ गर्ने र निर्वाचन प्रयोजनका लागि आवश्यक विभिन्न निर्देशिका, कार्यविधि तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ ।
आगामी प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र मतदाताको संख्यामा भएको वृद्धिलगायतका कारण करिब १० अर्ब खर्च हुने आयोगको अनुमान छ ।
चुनावी सुरक्षा : प्रहरीलाई सञ्चारसेटदेखि हतियारसम्म अभाव
निर्वाचनका लागि प्रहरीलाई सञ्चारसेट, सवारीसाधनदेखि हतियारसम्मको अभाव छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा प्रहरीले अभावकै बीच काम गरेको थियो ।
स्थानीय निर्वाचनमा सरकारले स्रोत–साधन पर्याप्त नदिएपछि प्रहरीले पुराना सञ्चारसेट मर्मत गरेर काम चलायो भने हतियार नेपाली सेनासँग सापट लिएको थियो । गाडी भाडामा लिएर प्रहरीले जनशक्ति परिचालन गरेको थियो । कतिपय ठाउँमा जनशक्ति पर्याप्त नहुँदा निर्वाचन नै रद्द भएका थिए । संघ र प्रदेशको निर्वाचनमा सरकारले स्रोत–साधन पर्याप्त उपलब्ध गराउने अपेक्षा प्रहरीको छ ।
बिहीबार निर्वाचन घोषणा गरेसँगै प्रहरीले तयारी थालिसकेको छ । स्रोत–साधन र जनशक्ति पर्याप्त हुँदा एकै चरणमा निर्वाचन गराउँदा सुरक्षा व्यवस्था अझै राम्रो हुने प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । उनका अनुसार म्यादी प्रहरीको संख्या एक लाखभन्दा धेरै चाहिन्छ । वैशाखको निर्वाचनमा प्रहरीले एक लाख १८ हजार म्यादी मागेकोमा एक लाखका लागि मात्र बजेट विनियोजन भएको थियो । सञ्चारसेट, गाडी तथा हातहतियारलगायतका सामानको पनि अभाव रहेको प्रवक्ता राईले बताए । ‘भएका कतिपय गाडी पनि थोत्रा छन्, ठेलेर चलाउनुपर्ने अवस्था छ,’ उनले भने ।
नयाँ निर्वाचन, नयाँ समीकरण
अहिलेको निर्वाचनमा ०७४ को भन्दा फरक समीकरण हुँदै छ । ०७४ मा वामगठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा थियो भने यो निर्वाचनमा कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी प्रतिस्पर्धाको सम्भावना छ । उनीहरूबीच ३० वैशाखको स्थानीय निर्वाचनमा पनि करिब आधाजसो पालिकामा तालमेल भएको थियो । चुनावी तालमेलमा जान सहमत भइसकेका पाँच दलबीच सिट बाँडफाँडबारे भने औपचारिक संवाद सुरु भइसकेको छैन । पाँच दलबीच चुनावी तालमेल भए त्यसले ०७४ को तुलनामा आगामी संसद्को अंकगणितसँगै सत्तासमीकरणमा समेत व्यापक हेरफेरको सम्भावना रहनेछ । यद्यपि, यहीबीचमा पाँचदलीय गठबन्धनमा रहेका कांग्रेसबाहेक अन्य चार दलले वाम–समाजवादी मोर्चा निर्माणको गृहकार्य जारी राखेका छन् ।
गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव
गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धनको छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी
औपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।
संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ । शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् । ०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।
उपगठबन्धनको गृहकार्य
पाँचदलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ ।
प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् । ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँ । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ।
संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने संकेत नेपालले गरे । उनले भने, ‘कांग्रेसलाई हामी नै सबै थोक हौँ भन्ने परेको हुन सक्छ । विगतमा पनि सर्वेसर्वा मै हुँ भन्दा धेरै बिग्रिएको छ । त्यसकारण हामी पनि केही हौँ भन्ने समय आएको छ । यसका लागि अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्ति मिलेर जानुपर्ने अवस्था छ,’ नेपालले गठबन्धनभित्र उपगठबन्धनको आवश्यकताबारे भने ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन ४ मंसिरमा एकै चरणमा सम्पन्न गर्ने मन्त्रिपरिषद्को निर्णय छ । संसद्को कार्यकालका विषयमा छलफल चलिरहेको छ । सामान्यतया अहिले हाम्रो बुझाइ जुन वेला प्रतिनिधिसभाका सदस्य, सभामुख र उपसभामुखले निर्वाचनका निमित्त उम्मेदवारीको मनोनयन गर्नुहुन्छ, त्यसपछि यसको कार्यकाल समाप्त हुनेछ भन्ने छ ।
निर्वाचनमा कुनै पनि विषयमा सवाल नउठ्ने गरी आयोगले आवश्यक तयारी गरेको छ । यी काम त्यसरी नै अगाडि बढ्छन् । आयोगलाई निर्वाचनका लागि एक सय सात दिन मात्रको अवधि भए पनि अर्जुनदृष्टि लगाएर काम गर्छौँ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन केन्द्रित हुन्छौँ ।

