चीनिया राजदुतको दबावमा नेपालको धारणा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग शुक्रबार चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट गरिन । भेटघाटको क्रममा नेपालले लिएको एक चीन नीतिप्रतिको धारण अस्पष्ट रहेको गुनासो गरिन ।
राजदूत यान्छीले सो गुनासो गरेलगत्तै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र अमेरिकी सभामुखको ताइवान भ्रमणबारे नजिकबाट नियालिरहेको विज्ञप्ति जारी भयो । यी सबै घट्नाक्रम हुनु अघि नै नेपालले ताइवान प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरोस भन्ने चीनको चाहाना थियो । तर यान्छी आफै सक्रिय भएपछि मात्रै नेपालले प्रतिक्रिया दियो । ‘सरकारले आफै मुख खोलोस भन्ने चाहान चीनको थियो यद्यपि त्यो पूरा भएन’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
नेपालकf पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको एक चीन नीतिमा कुनै परिवर्तन नआएको र ताइवान मामिलामा नेपालले चीनको समर्थन गर्नुपर्ने धारणा सार्वजनिक गरे । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गर्नुअघि खनालले एक विज्ञप्ति नै जारी गरेर सो धारणा सार्वजनिक गरे ।
अमेरिकी सभामुख नान्सी पेलोसीले मंगलबार ताइवान भ्रमण गरेको सन्दर्भमा चिनियाँ राजदूत होउले बुधबार विज्ञप्ति जारी गर्नुअघि खनालले यस्तो धारणा राखेका थिए । चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । राजदूत होउले लामो समयदेखि ‘एक चीन नीति’प्रति प्रतिबद्ध रही नेपालले ‘स्वतन्त्र ताइवान’को सशक्त विरोध गर्दै आएको भन्दै उच्च प्रशंसा गरेकी थिइन ।
होउले यो नै दुई देशबीचको सम्बन्धको राजनीतिक आधार भएको बताएकी थिइन । उनले चीन र नेपाल हिमाल र नदीले जोडेका दुई असल छिमेकी, विश्वासिला मित्र र विश्वसनीय साझेदार भएको बताउँदै दुई देशले सधैं एकअर्कालाई बुझेको र समान चासोका विषयमा साथ पनि दिँदै आएको जनाएकी थिइन ।
त्यसअघि पूर्व प्रधानमन्त्री खनालले ताइवान चीनको अभिन्न अंग रहेको बताउँदै खनालले अमेरिकी सक्रियताप्रति आपत्ति जनाए । समाजवादीका विदेश विभाग प्रमुख खनालले विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनकै भूमिको मान्यता दिइसकेको अवस्थामा अमेरिकी सभामुख त्यहाँ पुगेर यस क्षेत्रलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाउँदै नेपालले पनि यस विषयमा मुख खोल्नुपर्ने धारणा थियो ।
खनालले जारी गरेको विज्ञप्ति अनुसार चीन पनि यही चाहन्छ भन्ने बुधबार साँझ जारी विज्ञप्तिबाट स्पष्ट भएको छ । ताइवान र सम्पूर्ण एसिया क्षेत्रको शान्तिमा खलल पुर्याउन खोज्ने कुनै पनि गतिविधिको आफूहरुले विरोध गर्ने पनि खनालको विज्ञप्तिमा उल्लेख छ । न्यान्सीको ताइवान भ्रमण एक चीन सिद्धान्तविपरीत भएको पनि उनले उल्लेख गरे । खनालकै लयमा नेमकिपाका स्थायी अध्यक्ष नारायणमान विजुक्छेले पनि नेपालको धारणा सार्वजनिक हुनुपर्ने खालको विज्ञप्ति जारी गरे । त्यसैगरी कम्युनिष्ट पार्टीका नेताहरुले न्यान्सीको भ्रमणलाई सकारात्मक मानेका छैनन ।
नेपालले एक चीन सिद्धान्तअन्तर्गत ताइवान, तिब्बत र हङकङलाई चीनको अभिन्न अंग मानेको छ । चीनसँग हुने औपचारिक र अनौपचारिक कुराकानीमा नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने गरेकै छ। नेपालले एक चीन नीतिमा निरन्तर प्रतिबद्धता जनाइरहे पनि अहिले अमेरिकी सभामुखको ताइवान भ्रमणका बेला चिनियाँ राजदूतले नेपालको समर्थन खोजेको बेला पूर्व प्रधानमन्त्री खनालको सो धारणा आउनुले पनि चीन नेपाल सरकारबाटै खनालको जस्तै धारणा चाहेको मनशाय व्यक्त भैरहेको छ ।
होउले अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले एक चीन नीतिको गम्भीर उल्लंघन गरेको र दुई देशबीचको सम्बन्धको राजनीतिक आधारलाई नराम्रो असर पार्ने बताएकी थिइन । चिनियाँ विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि पेलोसीको भ्रमणबाट चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लंघन भएको जनाइएको थियो । चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ नखेल्न, चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र गलत तथा खतरनाक बाटोतर्फ अघि नबढ्न चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले बुधबार विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने चेतावनी दिएका छन । उनले चीनलाई आघात पुर्याउनेहरूलाई सजाय हुने बताएका छन । अमेरिकाले कथित लोकतन्त्रका नाममा चीनको सम्प्रभुताको उल्लंघन गरेको उनको दाबी छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी एसिया भ्रमणको सिलसिलामा मंगलबार ताइवान पुगेकी थिइन । ताइवानमा २५ वर्षको अवधिमा अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो । नेपालबहस


