म्यान्मार र मलेसियाबाट अझै आएन राजदूतको एग्रिमो
सरकारले चैत २४ मा २० देशमा सिफारिस गरेका मध्ये १८ देशमा नियुक्त राजदूतले काम थालिसकेका छन्
काठमाडौँ — म्यान्मारको सैनिक सरकारले प्रस्तावित नेपाली राजदूतका लागि एग्रिमो (सहमति) दिने शंका उत्पन्न भएको छ । पछिल्लो समय म्यान्मार सरकार विदेशी मामिलामा संवेदनशील भएपछि म्यान्मारका लागि प्रस्तावित नेपालका राजदूत हरिश्चन्द्र घिमिरेको एग्रिमो कहिले आउँछ भन्ने अनिश्चितता थपिएको हो । त्यस्तै, मलेसियाका प्रस्तावित राजदूत डिल्लीराज पौडेलका विषयमा पनि जानकारी आएको छैन ।
संसदीय सुनुवाइपछि नेपाल सरकारले प्रस्तावित राजदूतका लागि एग्रिमो मगाउन पत्राचार गरेको तीन महिना हुन लाग्दासमेत म्यान्मार र मलेसियाबाट कुनै जवाफ आएको छैन । परराष्ट्र मन्त्रालयले जेठको दोस्रो साता एग्रिमोका लागि सम्बन्धित मुलुकहरूमा पत्राचार गरे पनि सोमबारसम्म कुनै पनि जवाफ प्राप्त भएको छैन । नेपालका मित्रराष्ट्र म्यान्मार र मलेसियाबाट यति लामो समय एग्रिमो नभएको पहिलो पटक नै भएको परराष्ट्रका एक अधिकारी बताए । देउवा सरकारले चैत २४ मा म्यान्मार र मलेसियासहित २० देशमा राजदूत सिफारिस गरेको थियो । तीमध्ये १८ देशमा नेपालका तर्फबाट राजदूत नियुक्त भएर सम्बन्धित दूतावमा पुगिसकेका छन् । जेठ ८ मा म्यान्मारका लागि प्रस्तावित राजदूत पौडेल पनि समितिबाट अनुमोदित भएका थिए । अनुमोदन भएलगतै सोहि साता परराष्ट्र मन्त्रालयले एग्रिमोका लागि अन्य मुलुकका प्रस्तावित राजदूतहरूसँगै सम्बन्धित मुलुकमा पत्राचार गरेको थियो ।
परराष्ट्र मन्त्रालयले म्यान्मारस्थित नेपाली दूतावास र मलेसियामा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै एग्रिमोको सम्बन्धमा बुझ्नका लागि निर्देशन दिएको थियो । तर ती मुलुकका पदाधिकारीले नेपाली प्रतिनिधिलाई चाँडो नै एग्रिमो पठाउने प्रतिबद्धता गरेका परराष्ट्रका अर्का एक अधिकारीले बताए । तर कहिलेसम्म आउँछ भन्ने बारेमा उनीहरूले प्रस्ट भने पारेका छैनन् । नेपालबाट अहिलेसम्म १३ राजदूतले म्यान्मारमा गएर जिम्मेवारी पूरा गरिसकेका छन् । तर यो समस्या पहिलो पटक आएको हो । यस्तै, मलेसियामा यसअघि नेपालबाट तीन राजदूतले जिम्मेवारी पूरा गरिसकेका छन् । उनीहरूको एग्रिमो लिने समयमा यति ढिला भएको थिएन ।
म्यान्मारमा नेपाललाई लिएर मात्र होइन, विदेश राजदूत आफ्नो मुलुकमा आउने सम्बन्धमा सैनिक शासनले कडा कदम चालेको छ । सन् २०२१ को फेब्रुअरी १ मा म्यान्मारमा सैनिक ‘कु’ भएको थियो । त्यसलगत्तै सेनाले लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित अन्य नेतालाई नजरबन्दमा राख्ने तथा जेल हाल्ने गरिएको थियो । त्यसयता सेनाले नै शासन गर्दै आइरहेको छ ।
सैनिक ‘कु’ लगत्तै नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत वक्तव्य जारी गर्दै ‘म्यान्मारमा विकसित घटना क्रमलाई नजिकबाट हेरिरहेको र म्यान्मारका जनताको इच्छा र भावनाअनुसार सबै पार्टी संलग्न लोकतान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको’ थियो । मन्त्रालयले राष्ट्रपति विन मिन्ट र स्टेट काउन्सिलर आङ सान सुचीलगायतको गिरफ्तारीमा चासो रहेको र पक्राउ परेका सम्पूर्णको तत्काल रिहाइको माग गरेको थियो । तर संयुक्त राष्ट्रसंघमा म्यान्मारको सैनिक सरकारले मानवअधिकार हनन गरेको विषयमा भने नेपाल तटस्थ रहेको थियो । आफ्नो पक्षमा नउभिएको भन्दै सैनिक शासकले नेपाल सरकारसँग पत्राचारमार्फत असन्तुष्टि व्यक्त गरेको एक अधिकारीले बताए ।
तीन महिनाअघि बेलायतले म्यान्मारका लागि नयाँ राजदूतको रूपमा पिटर भोवल्सलाई नियुक्त गरेर पठाएको थियो । तर म्यान्मार आएपछि भोवल्सले सैनिक प्रमुखलाई ओहदाको प्रमाणपत्र बुझाउन चाहेनन् । त्यसपछि म्यान्मारको सैनिक सरकारले बेलायती दूतावासलाई एक तह घटुवा गरिदियो । त्यसपछि बेलायतले पनि आफ्नो राजदूतलाई एक तह घटुवा गरिदियो । कार्यबहाक राजदूतकै रूपमा भए पनि थाइल्यान्डबाट म्यान्मारमा काम गर्न जान लागेका भोवल्सलाई आउन दिइएन । उनी म्यान्मारबाट थाइल्यान्ड घुम्न गएका थिए । कार्यवहाक राजदूतको हैसियत भएपछि राष्ट्रप्रमुखलाई ओहदाको प्रमाणपत्र बुझाउनुपर्दैन । यस्तै, सैनिक सरकारले इस्ट टिमोरको राजदूतलाई एग्रिमो दिइसके पनि आफ्नो मुलुक आउन भिसा दिएको छैन ।
साउदी अरब र भारतसँग म्यान्मारको राम्रो सम्बन्ध छ । हाल म्यान्मारको उच्च सैनिक नेतृत्वसँग भेटवार्ता गर्ने एकमात्र राजदूत भारतका विनय कुमार हुन् । मलेसियाले एग्रिमो पठाउन ढिलाइ गर्नुको कारण भने कार्यवहायक राजदूतबाटै काम चलाउन खोजेको देखिएको छ ।
यसअघि भारतका लागि नेपाली राजदूत शंकर शर्माको पनि तीन महिनापछि एग्रिमो आएको थियो । म्यान्मार र मलेसियाका राजदूतको एग्रिमोका लागि पत्राचार गरेको ८० दिन पुगिसकेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा संसदीय सुनुवाइबाट अनुमोदन भएका राजदूत नियुक्त गर्न सम्बन्धित मुलुकको सहमति माग्ने प्रावधान छ ।
सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) आएका व्यक्तिलाई राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने निर्देशिकामा उल्लेख छ । तर ६ महिनासम्म पनि सहमति नआएको खण्डमा सरकारले अर्को उम्मेदवार सिफारिस गर्ने उल्लेख छ । यसअघि माओवादी केन्द्रका नेताद्वय राम (सुरेन्द्र) कार्कीको भारत र पम्फा भुसाल (हाल ऊर्जामन्त्री) को फ्रान्सबाट एग्रिमो आएको थिएन ।


