७ आश्विन २०८३, बुधबार

मुस्लिम समाजमा ‘तलाक’ प्रथा समाधान कि अभिशाप ?

एसीपी संवाददाता

१० भाद्र २०७९, शुक्रबार ०७:०२ मा प्रकाशित

पृष्ठभूमी

समुदायमा तलाक एक अभिशाप नै हो भन्ने सोच विद्यमान रहेको छ भने मुस्लिम समुदायभित्र तलाक पुरुषका लागि सजिलो हतियारको रुपमा तलाक–तलाक–तलाक भन्यो कि वैवाहिक सम्बन्ध सकिक्यो । आज तलाकका कारण घर कैयौं बर्बाद भइसकेका छन् । तलाकका कारण कयौं महिला बेघरबार हुनु परेको छ । कति बच्चाहरु बेवारिसे जीवन बिताउन बाध्य छन् ।

शरीयत इस्लाममा शराअई हिसाबले हलाल तर अल्लाहको नजिक सबभन्दा मन नपर्ने कुरा हो तलाक । यसर्थ सब भन्दा पहिला बुझ्नु पर्ने कुरा के छ भने तलाक इच्छा वा रिसका कारण साना साना कुरामा मनपरी दिने वा लिने चिज होइन् । यो त शरीयतले दुई त्यस्ता व्यक्ति जसलाई संगै बस्न असम्भव भएपछि एक अर्कासँग छुट्टिन दिएको बाटो हो । ‘हलाल’ अरबी शब्द हो जसको अर्थ उचित, विहित, निर्धारित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग गर्न उचित छ र वैध मानिन्छ ।

इस्लाममा पति पत्नीबीच वैधानिक नाता कायम गर्र्ने र गराउने निकाय नै एक मात्र हलाल एवम् वैधानिक बाटो हो । अनि बस्न नसकिने अवस्था आएमा छुट्टिने हलाल बाटो तलाक हो । हामीले यो बुझ्नु आवश्यक छ कि हलाल जसलाई यति जोड्दार रुपले प्रचार प्रसार गरिँदैछ त्यस्तो तरिकाको इस्लामसँग कुनै सरोकार छैन् र न कहिले
थियो अनि कहिल्यै हुन पनि सक्दैन् । इस्लामसँग त्यस्तो गलत र मनगढन्ते चिजहरू जोड्नु वास्तवमा अल्लाहको आदेशमाथि औंला उठाउनु सरह हो । किन कि व्यक्ति कानून बनाउँदा गल्ती गर्न सक्दछ र उसले गल्ती गरेको पनि पाइन्छ ।

तर अल्लाहबाट कुनै गल्तीको बारेमा सोच्नु इमानबाट खारेज हुनु हो । कुरा यो हो कि संसार तपाईंले हजारौं लाखौं त्यस्ता व्यक्तिहरू भेटाउन सक्नुहुन्छ जो नास्तिक छन् वा जसले अल्लाहको नाफरमानी गरेका हुन्छन्, जो
प्रत्येक समाज र धर्ममा छन् र इस्लाममा पनि पाइन्छन् । यिनीहरू त्यस्ता मानिस हुन्, जसले आफ्नो इच्छा अनुसार शरीअते इस्लामको शिक्षा र कानूनलाई बङ्ग्याएर समाजमा भ्रम सृजना गर्ने प्रयास गर्दैछन् । त्यस्तै विषय हो
तलाक जुन विषयको बारेमा कुरानापाकको प्रकाशमा केही महत्वपूर्ण जानकारी साझा गरिँदैछ जसले कायम रहेको भ्रम हटाउनेछ ।

सामाजिक परिवेश

यता तलाक–तलाक–तलाक भन्यो उता एकै छिनमा कहानी खत्तम । यद्यपि तलाक इस्लाममा एक समाधान वा पति पत्नीसँगै बस्न सक्ने अवस्था नै नरहेमा छुटकारा पाउने प्रावधान हो । तथापि समाजमा आज यसको दुरुपयोग गरिँदै
शरीयतको मजाक बनाइँदै आइएको छ । जसको नकारात्मक असरहरु समाजमा प्रष्ट देख्न सकिन्छ ।

साना साना कुरामा तलाक दिइन्छ । कहिले पुरुषले शंकाको भरमा, रिसको आवेगमा तलाक दिन्छन् भने कहिले महिला अर्थात् आफ्नी आमा वा दिदीबैनीको दबाब र इमोशनल ब्लेकमेलमा तलाक दिने गर्छन् । कुरा यति कहाँ हो र कहिले त महिलाले स्वयम् उक्साउछिन् कि ‘आफ्नो बाउको जायज सन्तान हो भने तलाक देऊ, हिम्मत छ भने तलाक दिएर देखाऊ, तिमीलाई तिम्रो आमाको कसम छ तिमी आजै अहिलै नै तलाक देऊ ।’

अनि पुरुष नचाहदाँ पनि आवैगमा आएर बाध्य भएर तलाक दिन्छन् । तलाकको दुरुपयोगले धेरै महिला र तिनका बच्चाहरु अलपत्र छन् । जो शिक्षादिक्षा, खानपान, घरबार र स्वास्थ्य उपचारबाट बञ्चित छन् । जसलाई आधारभूत आवश्यकताहरु पूरा गर्न पनि धौ–धौ पर्छ । कतिपय महिला अरुको घरमा घरेलु कामदारका रुपमा नारकीय जीवन गुजारी रहेका छन् भने कति महिलाहरु आफ्ना बच्चाहरुका साथ माइतमा एक आश्रित जीवन बिताउन बाध्य छिन् ।

जहाँ तलाकी महिलाहरुले माइतमा घरका सम्पूर्ण काम गरेर पनि दाई–भाउजू लगायतको चारथरी कुरा सुनेर पनि सुरक्षित आश्रयको अभावमा मानसिक यातना सहेर जीवन बिताउन बाध्य छिन् । तर उनीहरुका लागि कसैले सोच विचार गरेको हुँदैन सबलाई आफ्नै चिन्ता फिकिर छ सब आआफ्नै तालमा हिँडेका छन् । भइरहेको के छ भने अर्काको दबाबमा आएर, चरित्रमाथि शंका लागेमा, कुनै कुराको रिस उठेमा पतिले आफ्नी पत्नीलाई फटाफट तीन तलाक दिइहाल्छन् अरे ।

तीन मात्र कहाँ हो र एक साथ सैयौं पटक ‘मैले तलाई तलाक दिएँ वा जा तँलाई तलाक छ’ भनिहाल्छन् । शरीयतको कानून र आदेशको धज्जि उडाउँदै आजभोली मनपरी ढंगले शरीयतको बरखिलाफ गइकन मानिसहरु तलाक दिने गरिरहेछन् । तलाकको बारेमा कुरानपाकमा आदेश हुन त इस्लाम धर्ममा हलाल कार्यहरुमध्ये तलाक अल्लाहको नजिक सबैभन्दा बढी मन नपर्ने कुरा हो ।

तलाक अभिशाप होइन समाधान हो, जसको दुरुपयोग आज समस्याको रुपमा सृजना गरिँदैछ । तलाक त्यति बेला मात्र दिन पाइन्छ जति बेला निर्वाह गर्न दुबैलाई एकदमै गाह्रो भएको हुन्छ। सँगै बस्न सक्ने अवस्था नै हुँदैन । एक अर्काको ज्यान दाउमा लागेको हुन्छ त्यति बेला ज्यूयानको सुरक्षाको दृष्टिकोणले तलाक लिएर छुट्टिएर बस्नु एक उत्तम उपाय हो ।

तलाक छुट्टिनुका लागि इस्लामले दिएको अवसर हो र छुट्टिनका लागि नियत मात्र हो र यो छुट्टिने सोच र नियतमा नै भर पर्छ । तर, आज धेरै जसोले एक पटकमा तीन चोटी तलाक दिँदा तलाक हुँदैन् भन्ने गरेका छन् जुन कि गलत हो । एक पटकमा तीन वा सो भन्दा बढी तलाक भनियो भने तलाक लाजिम हुन्छ र छुट्टिनु पर्ने हुन्छ । तर तीन भन्दा कम पटक भनिएको छ भने रुजु गरि बस्न सकिन्छ ।

तलाक दिँदा साक्षी हुनुपर्ने जरुरी छैन्, साक्षी नभए नि तलाक भइहाल्छ । तलाक सम्बन्धी अल्लाहको आदेशबारे विस्तृत जानकारी कुरानमस्जिदको सुरह बक्रा, सुरह तलाक, सूरह निशा लगायतका आयतहरुमा पढ्न सकिन्छ । यहाँ संक्षिप्तमा तलाक बारे केही महत्वपूर्ण जानकारी यस प्रकार साझा गरिँदैछ ।

तलाकका किसिम

मुख्यता तलाकका तीन किसिम हुन्छन् । पहिलो तलाकलाई ‘तलाक–ए–रजई’ दोस्रोलाई ‘तलाक–ए– बाअईन’ र तेस्रोलाई ‘तलाक–ए–मुगल्लिजा’ भनिन्छ ।

१.तलाकको पहिलो किसिम तलाक–ए–रजइ हो जसलाई तलाक–अहसन पनि भनिन्छ । यसमा तलाक एक वा दुई पटक तलाक दिएको तलाक मान्य हुन्छ र तलाक पछि इद्दत सुरु भइहाल्छ तर पत्नी निकाहमै रहन्छिन् । इद्दतको अवधीभित्र अर्थात तीन तोहर (तीन महिनावारी भित्रै) पतिले पत्नीलाई यो भनेर रूजू गर्न सक्छ कि ‘मैले रजत गरें र मैले तिमीलाई आफ्नो निकाहमा लिएँ ।’ यसरी उनीहरुको निकाह कायम रहन जान्छ । यदि इद्दतको समय बितिसकेछ भने आपसी रजामन्दीमा फेरिबाट निकाह
गरेर बस्न सक्ने छन् ।

२. दोस्रो तलाक–ए–बाअईन जसलाई तलाके किनाई र तलाक–ए–हसन पनि भनिन्छ जसमा पतिले तलाक–ए–बाअईन शब्दको प्रयोग गर्नुपर्छ कि मैले तिमीलाई तलाक–ए–बाअईन दिएँ अथवा तलाक शब्दलाई गोलमोल वा घुमाउरो पारा तिमी सख्त तलाक छ भन्छ भने तलाक भइहाल्छ जस पश्चात रुजू गर्ने हक हुँदैन । तलाक पछि इद्दत सुरु भइहाल्छ जुन तीन महिनावारीको अवधी हो । इद्दत गुजारिसकेपछि पति पत्नीसँगै बस्न इच्छुक भए आपसी समझदारी र रजामन्दीमा शराअई गवाह (साक्षी) हरुको उपस्थितिमा नयाँ महरका साथ पुनः निकाह हुनसक्छ । तलाकपछि महिलालाई घरनिकाला गर्न पाइँदैन्, बरु आफू छुट्टिएर बस्नुपर्छ ।

३. तेस्रो प्रकारलाई तलाक–ए–मुगल्लिजा जसलाई तलाक–ए–बिद्दत (बिदाह) पनि भनिन्छ । यसमा सम्बन्ध विच्छेदको त्यो प्रकृयाको नराम्रो पक्ष स्पष्ट देखिन्छ । जसमा पतिले एक पटकमा तीन चोटी ‘तलाक– तलाक–तलाक’ भनिदिएमा तलाक भइहाल्छ । तलाक–ए–बिद्दत अन्तर्गत पतिले तीन पटक भन्छ ‘म तिमीलाई तलाक दिन्छु वा मैले तिमीलाई तलाक दिएँ ।’ त्यसपछि विवाह तुरुन्तै टुट्छ अब निकाह कायम रहँदैन र यसपछि रुजू गर्ने हक पनि हुँदैन, अब कसैले यो तलाक फिर्ता लिन सक्दैन् । यस पश्चात तलाकशुदा जोडी छुट्टिनुपर्ने हुन्छ ।

तलाकको प्रकृया जे जसो भए पनि बिना शरअइ कारण तलाक दिन पाइँदैन् । कस्तो तलाकमा पुनः निकाहको अवश्यकता हुँदैन । त्यस्तो तलाकलाई ‘तलाक–ए–बाईन’ भनिन्छ । अर्थात् पतिले खुल्ला रुपमा नभने पनि तलाकको आशयले ‘तिमी म माथि हराम भयौ’ वा ‘तिमी आज देखि स्वतन्त्र छौ’ वा ‘गइ हाल’ वा ‘आफ्नो अनुहार न हेराऊ’ वा ‘अर्को पति खोजिहाल’ वा ‘यहाँ काम छैन’ वा ‘तिम्रो ओछ्यान सारिहाल’ वा तलाक शब्द नै भनोस् कि तिमीलाई सबभन्दा फोहोर तलाक छ, वा सबभन्दा साह्रो तलाक जस्ता शब्द भन्यो भने त्यतिबेला तलाक बाईन लागू हुन्छ ।

यसको विषयमा आदेश छ कि इद्दत (समय सीमाभित्र) वा इद्दत पछि पतिपत्नीले निकाह गरिहाले भने रुजुअ (मान्य) भइहाल्छ । हलालको आवश्यकता पर्दैन । यद्मपि महिलाको अनुमति जरुरी हुन्छ । महिलाले अस्वीकार गरे भने निकाह हुँदैन । यसैगरी यदि पतिले एक वा दुई तलाक मैले तलाक दिए भनेर दिएर इद्दतभित्र नै रुजु गरेन भने पुनः निकाह गर्नुपर्ने हुन्छ । अनि मात्र रुजू हुन्छ र यस्तो परिस्थितिमा महिलाको मन्जुरी आवश्यक हुन्छ । यदि महिलाको मन्जुरी नभए पुरुष (पति) ले एक्लै रुजुअ गर्न सक्दैन । अवस्था जस्तो भए पनि बिना शरअई कारण तलाक दिनु नाजायज हो ।

तलाक दिन सक्ने शरअई कारण यी हुन् ।
१. इस्लामले गर भनेका काम नगरेमा
२. इस्लामले नगर भनेका काम गरेमा
३. पर पुरुषसँग लागेको प्रमाणित भएमा आदि ।
तलाकको बारे पवित्र ग्रन्थ कुरानपाकमा सूरह तलाक नै छ । यसका साथै अन्य सूरहमा पनि तलाकको बारेमा जानकारी गराइएकोछ । जुन कि तल पढ्न सकिन्छ सुरह निशा, सूरह बकरका केही आयतको नेपालीमा अनुवाद गरी लेखिएको छ ।
र यदि तिमी कुनै पत्नीको स्थानमा अरु कुनै पत्नीसँग विवाह गर्न चाहन्छौं र तिमीले तिनी मध्ये एकलाई सुन यदि चाँदीको थुप्रो नै मोहरमा दिएकाछौं भने त्यसबाट केही न लेऊ । के तिमी चाहन्छौ कि उसलाई आरोप लगाएर तथा खुल्ला पापद्वारा लिइ हाल ।

सुरह निशा आयत नं. २०

‘र यदि तिमीलाई पति पत्नी बीच बियोग हुने आशंका छ भने एक हाकिम पुरुषको तर्फबाट र एक महिलाको तर्फबाट व्यक्ति चयन गरिदेऊ । यदि पति पत्नी दुबै सम्झौता गर्न चाहन्छन् भने अल्लाह उनको बीच सम्झौता गराइदिनेछन् । निसन्देह अल्लाह सब कुरा जान्नेवाला र खबर राख्नेवाला हुन् ।’ (सुरह निशा–३५) । जो व्यक्तिहरुले आफ्नी पत्नीसँग छुट्टिने कसम खाइहालेका उनीहरुका चार महिना सम्मको प्रतिक्षा छ । फेरि यदि उनीहरु सम्झौता गर्छन् भने अल्लाह
अत्यन्त क्षमाशील, दयावान छ ।

सुरह बकर आयत नं. २२६

र यदि उनीहरुले तलाकÞ दिने निश्चय नै गरिहालून् भने अल्लाह पनि
सुन्नेवाला भलीभाँती जान्नेवाला हुन् ।

सुरह बकर आयत नं. २२७

र तलाक पाइसकेकी महिलाहरुले तीन हैज (मासिक–धर्म) बित्ने सम्म आफूलाई रोकेर राख्ने र यदि उनी अल्लाह र अन्तिम दिनमाथि आस्था राख्छिन् भने उनको लागि यो वैध छैन् कि अल्लाहले उनको गर्भाशयहरुमा जो जन्माए त्यो उनी
लुकाउन् । यस बीच उनका पति यदि सम्बन्धहरुलाई ठीक गरिहाल्ने आशय राख्दछन् भने उनले उनीहरुलाई फर्काउन बढी हकदार छन् । र ती पत्नीहरुलाई पनि सामान्य नियमको अनुसार उस्तै अधिकार छन्, जस्ता उनीमाथि जिम्मेवारी
दिइएका छन् । र पतिहरुलाई उनी भन्दा माथि एक दर्जा प्राप्त छ । अल्लाह अत्यन्त प्रभुत्वशाली, तत्वदर्शी हुन् ।

सुरह बकर आयत नं. २२८

तलाकÞ दुई पटक छ । फेरि सामान्य नियमको अनुसार (महिलालाई) रोकिहाल्ने वा राम्रो तरिकाले बिदा गरिदिने । र तिम्रो लागि वैध छैन् कि जुन कुरा तिमीले उनलाई दिइसकेकोछौ । त्यसबाट केही लिइहाल मात्र यो परिस्थितिमा कि
दुबैलाई डर होस् कि अल्लाहद्वारा (निर्धारित) सीमाहरुमाथि कायम रहन सक्दैनौं भने यदि तिमीलाई यो डर छ अल्लाहको सीमाहरुमाथि कायम रहदैनौं भने महिला जुन कुरा दिएर छुटकारा प्राप्त गर्न चाहेमा त्यसमा उनी दुबैका
लागि कुनै पाप छैन् । यी अल्लाहको सीमाहरु हुन् अतः यिनलाई उल्लङ्घन नगर । र जो कसैले अल्लाहको सीमाहरु उल्लङ्घन गर्छ भने त्यस्ता व्यक्ति अत्याचारी हुन् ।

सुरह बकर आयत नं. २२९

तलाककै कुरा गर्दा शरीयते इस्लामले जब पति पत्नी बीच सम्बन्ध यति बिग्रिने अवस्था सृजना हुन आउँछ कि दुबैलाई ज्यानै जाने वा बाँच्नै नसक्ने कि त आफू मरिहाल्ने कि अर्कोलाई मार्दिन सक्ने खतराको अवस्था आयो

त्यतिबेला तलाकलाई आपतकालीन बाटोको रुपमा प्रयोग गरी एक अर्कासँग छुट्टिन सक्ने प्रावधान राखेर तलाक दिन र लिन आदेश दिएकोछ । त्यसको लागि तीन पटकमा चरणबद्ध तलाक दिने भनी आदेश छ । तर यदि अल्लाहको आदेश विपरीत कसैले एक साथ तीन तलाक दियो भने उसमाथि उसकी पत्नी हराम भइहाल्छिन् अब जबसम्म उसको पत्नीले अर्को पुरुषसँग निकाह गर्दैनिन् र उसले तलाक दिँदैन वा छाड्दैन तबसम्म उसले आफ्नी साबिका पत्नीसँग बस्न सक्दैन् ।

यो उसको लागि दण्ड हो जसले हलाल काम मध्येको अल्लाहलाई सबभन्दा मन नपर्ने कार्य आफ्नी पत्नीलाई तलाक दिने गर्छ । हलालाको सम्बन्धमा बुझ्नको लागि हलाल भनेको के हो यो बुझ्न अति आवश्यक छ । हलाल एक अरबी शब्द हो जसको अर्थ हो उचित, विहित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग
उचित र वैध मानिन्छ । यस्तै समाजमा बसेर आफ्नो वंश बढाउन र एक अर्को आवश्यकता पूरा गर्नका लागि पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरीयते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो ।

शरीयते इस्लाम र यसका शराअई कानूनलाई अध्ययन र मनन गर्ने हो भने प्रष्ट हुनेछ कि यी मानव हितमा बनेका छन् तर चुनौती यो छ कि मानिसले यसलाई आफ्नो इच्छा अनुसार तोडमरोड गर्न थाल्छन् र मनपरी ढंगले यसको व्याख्या र
प्रयोग गर्नथाल्छन् त्यसपछि समस्या उत्पन्न हुन थाल्छन् । हामीले शरीयते इस्लामको कानून र आदेशलाई बुझेर मात्र यसमाथि पालना गर्नुपर्छ । तलाक बारे माथि उल्लिखित कुरानपाकका आयतमा भनिएका कुरा र शरीयते इस्लामले
दिएका आदेश र तलाकको सही तरिकालाई बुझेर बुझाउन सक्यौं भने तलाक समाधानको बाटो हुनेछ अभिशाप हुनेछैन् ।
समाप्त ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x