अन्तर्राष्ट्रिय सहयोग खोज्दै पाकिस्तान
इस्लामाबाद — लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । पाकिस्तानमा गत जुनयता आएको बाढीपहिरोका कारण १ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।
तीमध्ये १ सय १९ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले जनाएका छन् । बाढीका कारण दसौं हजार विस्थापित भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायत देशहरूले पाकिस्तानका लागि सहयोग उपलब्ध गराएका बीबीसीले जनाएको छ । तर मन्त्रालयका अधिकारी दसौं हजार विस्थापित भएको सल्मान सुफीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन् ।
सरकारले सम्भव भएसम्म बाढी प्रभावितलाई सहयोग गरिरहेको उनको दाबी छ । ‘पाकिस्तानले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको छ । आर्थिक समस्या समाधान गर्ने प्रयास भइरहेका बेला बर्खायामको विपद्ले थप संकट थपिएको छ,’ बीबीसीसँग कुरा गर्दै उनले भने । देशको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुन्ख्वामा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसका कारण हजारौं मानिस घर छाडेर भाग्न बाध्य भएका छन् ।
वर्षौंदेखिको कडा मिहिनेतले बनाएको घर आँखैअगाडि डुब्यो,’ २३ वर्षीय जुनैद खानले भने, ‘हामीले सडक किनारामा बसेर हाम्रो सपनाको घर डुबेको हेर्न बाध्य भयौं ।’ त्यसैगरी, दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौं मानिस विस्थापित भएका जनाइएको छ । अधिकारीहरूले अन्य विकास परियोजनाको बजेट रकमान्तर गरी बाढी प्रभावितलाई राहतको व्यवस्था गरिएको जनाएका छन् । सिन्ध प्रान्तमा सबैजसो गाउँका स्थानीय बाढीका कारण विस्थापित भएका छन् । बाढीले कारण भएको पूर्ण क्षतिबारे तथ्यांक संकलन भइरहेको जनाइएको छ । पाकिस्तानमा बाढी नौलो नभए पनि यसपटकको वर्षा र त्यसको असर फरक भएको बताइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले देशको करिब १५ प्रतिशत (३ करोड ३० लाख) जनसंख्या बाढीबाट प्रभावित भएको जनाएका छन् । यस वर्षको बाढी हालसम्मकै खराब भएको उनको भनाइ छ । पछिल्लो
समय देखिएको बाढीको क्षति अस्वाभाविक भएको र त्यसका लागि जलवायु परिवर्तन मुख्य कारक रहेको विज्ञहरू बताउँछन् ।
पाकिस्तानमा सन् २०१० को बाढीपहिरोका कारण २ हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला २० प्रतिशतभन्दा बढी पाकिस्तानी भूभाग जलमग्न भएको थियो ।


