नेपालमा हिन्दुत्व र माेदीकाे लाेकप्रियता
नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन्, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’
किशोर नेपाल भन्छन्, ‘मोदीले नेपालको हिन्दुवादी भावनाको दुरुपयोग गरेका छन र त्यसमा उनी सफल पनि भएका छन्। धेरैले मोदीको लोकप्रियता पहाड र मधेसीमा विभाजित भएको भन्दैछन्। तर मलाई त्यस्तो लाग्दैन। नेपालमा पहाडी हुन कि मधेसी हुन, ती दुवै हिन्दू हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दरबारमा नेपालका धेरै राजनीतिज्ञहरू उपस्थित हुन्छन्। चाहे त्यो पहाडीहोस् या मधेसी। यसपटक मोदी लुम्बिनी जाँदा उनको भव्य स्वागत गरिएको थियो।’
नेपालमा लामो आन्दोलनपछि सन् २००८ मा राजतन्त्रको अन्त्य भइ प्रजातन्त्र स्थापना भयो। सेप्टेम्बर २०१५ मा नेपालले आफ्नो नयाँ संविधान लागू गर्याे र नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राज्य भयो। बीजेपीले नेपालको हिन्दू राष्ट्र पहिचानलाई नष्ट गरियो भन्दै विरोध गर्याे। मे २६, २००६ मा तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहले भनेका थिए, ‘नेपालको मौलिक पहिचान हिन्दू राष्ट्र हो र यो पहिचान ओइलाउन दिनु हुँदैन। नेपालले आफ्नो मौलिक पहिचान माओवादीको दबावमा मेटाइदियो भने भाजपा खुसी हुनेछैन।’
सन् २०२० मा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र नेपालका बहुसंख्यक जनता हिन्दू भए पनि द्विपक्षीय सम्बन्धमा धर्म र संस्कृतिलाई मिसाउन नसकिने बताएका थिए। (नागरिक न्युजबाट)


