४ कार्तिक २०८३, मंगलवार

एकपक्षीय चिनियाँ नाकाबन्दीले नेपाली व्यवसायी मारमा, विश्‍वास गुमाउँदै चीन

एसीपी संवाददाता

२० भाद्र २०७९, सोमबार १९:१७ मा प्रकाशित

काठमाडौं। चीनको वुहानमा सन् २०१९ मा पहिलो पटक कोरोना संक्रमणको प्रकोप देखिए पनि तीन वर्ष पुग्‍नै लाग्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारीले विश्‍वभर करोडौं मानिसहरु संक्रमित भएका छन् भने लाखौं मानिसहरुको मृत्यु भइसकेको छ। चीनले यसको उत्पत्ति र फैलावटबारे हालसम्म कुनै जानकारी दिएको छैन।

कोरोना चिनियाँ सेनाले प्रयोगशालामा निर्माण गरेको बताइए पनि यसको पुष्टि हुन सकेको छैन। चीनले कोरोना नियन्त्रणका लागि शून्य कोभिड नीति लिएको छ। चीनका नागरिकहरुलाई घरभित्रै थुनिएको छ। यससँगै सीमा नाकामा लगाइएको प्रतिबन्धले छिमेकी मुलुकहरुलाई पनि असर गरिरहेको छ।

चीनले कोरोना महामारीका नाममा नेपालसँगको नाकामा लगाएको प्रतिबन्धको ३० महिना पूरा भइसकेको छ। यद्पि चीनले नाका खोल्‍ने कुनै संकेत देखाएको छैन। भूपरिवेष्टितबाट भूजडित मुलुक घोषणा गरेको चीन सरकारको निरन्तरको अवरोधका कारण नेपालको अर्थतन्त्रमा नकरात्मक असर देखिन थालेको छ।

नेपाल चीन व्यापारमा संलग्‍न व्यवसायी, चीन सरकारले विभिन्न बहानाबाजी गरेर तातोपानी र केरुङ नाकाबाट निर्वाद भइरहेको व्यापारलाई अघोषित रुपमा तहसनहस बनाएको छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरुङ दुवै नाका बाट सहजरुपमा सामान आयात हुने मौसममै फेरि नाकाबन्दी गर्दा ठूलो घाटा व्यहोर्नु परेको बताएका छन्।

नेपालीहरुका चाँडबाड नजिकिएसँगै बजारमा सामानको माग हुन्छ। चीनबाट दशैं तिहारका लागि आवश्यक लुगा कपडा तथा अन्य सामग्रीहरु आयात हुने समयमा चीनले नाका बन्द गर्दा नेपाली व्यवसायीहरु ठूलो मारमा परेका हुन्। सम्पूर्ण विश्‍वले अहिले कोरोनाको खोप लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने र नर्मल जीवनशैलीमा फर्किन थालिसकेको अवस्थामा चीनले भने नियतवश नाकाबन्द गरेर नेपाललाई दबाब सिर्जना गरिरहेको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार तातोपानी नाका नियमित नहुँदा चीन सरकारले करोडौं खर्चेर निर्माण गरिदिएको लार्चाको सुक्खा बन्दरगाहसमेत प्रयोगबिहीन बनेको छ। तातोपानी नाका उस्तै छ, महिनौं लागेर केरुङ पुगेका कन्टेनरहरु सीमामै अलपत्र छन्।

व्यवसायीले चीनले लोड भइसकेका सामान ल्याउन अवरोध पुर्याएर निरन्तर नेपालमाथि अघोषित नाकाबन्दी गरेको भन्दै सरकारलाई धेरै पटक गुहारेका छन्। यो बीचमा चीनबाट भएको उच्चस्तरीय भ्रमणमा तातोपानी र केरुङ नाकाको अवरोध हटाएर आयात निर्यात सहज बनाउनुपर्ने विषय उठेको पनि छ। तर, उच्चस्तरीय भ्रमणपछि पनि चीनले नेपाली व्यवसायीको कन्टेनर नेपाल पठाउने प्रक्रिया सहज बनाएको छैन।

यसका कारण चीनमा नेपालको विश्‍वसनीयता गुम्नुका साथै चीनले नेपालको हितमा काम गर्न नसक्ने भन्दै चर्को आलोचनासमेत हुने गरेको छ। यसअघि नेपालका व्यवसायीहरुले तातोपानी नाका पुगेर चीनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x