प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी
काठमाडौं। नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो। जनकपुरधाममा भदौ २३ र २४ गते बसेको बैठक १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो ।
जनकपुरधाम घोषणापत्र जस्ताको तस्तै :
१. नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानून तथा निर्देशिकाहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकुल हुने गरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानून, नियमावली नबनाउन केन्द्रीय समितिको यो बैठक तीनै तहका सरकारसँग जोडदार माग गर्दछ। साथै, संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिको छ। काउन्सिललाई स्वायत्त बनाई नेपाली सञ्चार क्षेत्रको समग्र विकास र मर्यादित पत्रकारितालाई प्रोत्साहन गर्न सघाउनु पर्छ भन्ने नेपाल प्रेस युनियनको ठहर छ। यसर्थ प्रस्तावित मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न नेपाल सरकारसँग माग गर्दछ।
२. श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारहरुले नियमित पारिश्रमिक पाउने वातावरणको निर्माण, पेशागत सुरक्षा तथा आर्थिक सामाजिक सुरक्षा हाम्रा मुख्य प्राथमिकता हुन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने, नियमित पारिश्रमिक भुक्तान नगर्ने तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाप्रति खेलबाड गर्ने प्रवृत्तिको यथोचित प्रतिवाद नेपाल प्रेस युनियनले गर्ने विश्वास दिलाउन चाहन्छौं। श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका सबै सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरुसँग नेपाल प्रेस युनियन माग गर्दछ। साथै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकक पुनरावलोकन एवं वृद्धिका लागि सरकारसँग माग गर्दछ।
३. समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरी मुद्धा चलाउने क्रम बढेकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। केन्द्रीय समितिको यो बैठक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी समाचारमा चित्त नबुझेकै आधारमा पत्रकारप्रति कठोर व्यवहार नगर्न गृह प्रशासनसँग जोडदार माग गर्दछ। समाचारमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्न सम्बन्धित पक्षलाई आग्रह गर्दै प्रेस विरोधी कानूनको प्रयोग नगर्न युनियन माग गर्दछ।
४. लोककल्याणकारी विज्ञापन दोब्बर बनाउन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा सञ्चारमाध्यमको दर्ता, नवीकरण, सूचीकरण, वर्गीकरण तथा प्रेस पास वितरणको व्यवस्थालाई सरल र सहज बनाउन एवं स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवद्र्धनमा विशेष जोड दिन माग गर्दछ। साथै, सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिंकमैत्री बनाउन पनि आग्रह गर्ने निर्णय गरेको छ।


