मुलुकभित्रै अनागरिक बनेका ‘नागरिक’को वेदना : नागरिकता नभएकाले अतिआवश्यक सुविधाबाट वञ्चित
धनुषा गणेशमान–चारनाथ नगरपालिका– ३ का २९ वर्षीय इन्द्रजित साफीले तीन वर्षअघि दुःखले इन्जिनियरिङ पास गरे । त्यसलगत्तै बबरमहलस्थित बिएस बिल्डर कम्पनीमा उनले नाम पनि निकाले । तर, कम्पनीले जब नागरिकता खोज्यो, उनले पेस गर्न सकेनन् । फलतः जागिरबाटै सधैँका लागि बिदा हुनुपर्यो ।
नागरिकता नहुँदा सिम कार्ड, लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्रजस्ता राज्यबाट प्रदत्त आधारभूत सुविधाबाटै उनी वञ्चित बने । उनको प्रेममा समेत नागरिकता नै समस्या बनेर आइदियो । प्रेममा छँदा प्रेमिकासँग नागरिकताको प्रसंग कहिल्यै नउठाएका उनले विवाहपछि नागरिकताकै कारण झमेला व्यहोर्नुपर्यो । विवाहपछि जब श्रीमतीले इन्द्रजितको नागरिकता नभएको बुझिन्, उनी डिभोर्स माग्ने मनस्थितिमा पुगिन् ।
केही दिनभित्रै नागरिकता बनाउने आश्वासनमा साफीले श्रीमतीलाई त मनाए । तर, ससुराली पक्ष उनीहरूको सम्बन्धमा अवरोध बनेर उभिए । हेदाहेर्दै बल्लतल्ल बसेको घरजम समाप्त हुने चरणमा पुगेपछि उनी ससुराली पुगेर पुनः भनेका छन्, ‘ढुक्क हुनुहोस् । केही दिनभित्रै म नागरिकता लिएर तपाईंकहाँ खडा हुनेछु ।’तर, उनले ससुरालीमा दिएको आश्वासन सजिलै पूरा हुने छाँट देखिएको छैन । किनकि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरिदिँदा कानुनतः निष्क्रिय भइसकेको छ । रन्थनिएका उनी बुधबार उनीजस्तै नागरिकताविहीनसँगै माइतीघर मण्डलामा धर्नामा भेटिए ।
विरोध कार्डसहित नारा लगाइरहेका इन्द्रजित भन्दै थिए, ‘हजुरबुबा, बुबा र आमाको जन्मसिद्धका आधारमा नागरिकता छ । हजुरआमासँग वंशजको नागरिकता छ । तर, मसँग न जन्मसिद्धका आधारमा नागरिकता छ, न वंशजको नै । म यो मुलुकको जिम्मेवार नागरिक हुँ । राज्यले मलाई अनागरिक बनाउन पाउँदैन । संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ ।’
इन्द्रजितको भन्दा फरक छैन, मोरङ कटारी गाउँपालिका– ४ का २५ वर्षीय नीरजकुमार कामतको पीडा । उनका हजुरबुबा र बुबासँग जन्मसिद्धका आधारमा नागरिकता छ । हजुरआमा र आमासँग वंशजको । तर, उनीसँग दुईमध्ये कुनै पनि नागरिकता छैन । जसकारण उनी राज्यले दिने छात्रवृत्तिबाट त वञ्चित बने नै, न्यूनतम सुविधा मानिने मोबाइलको ‘सिम कार्ड’ लिनबाट समेत वन्चित भए ।
नागरिकता नहुँदा उनले पनि न बैंकमा खाता खोल्न सकेका छन्, न सवारीसाधन चलाउने लाइसेन्स नै लिन पाएका छन् । उच्च शिक्षाका लागि विदेश जान चाहेका उनको पासपोर्ट नागरिकताकै कारण रोकिएको छ । मतदाता परिचत्रपत्र नहुँदा उनले कुनै पनि निर्वाचनमा मत हाल्न पाएका छैनन् । हुँदाहुँदा बल्लतल्ल मिलेको जागिरबाट समेत उनले हात धुनुपरेको छ ।
उनले भने, ‘म अहिले मीनभवन क्याम्पसमा बिबिएस पढ्दै छु । मेरो पढाइ राम्रो छ । तर, आर्थिक अवस्था कमजोर छ । छात्रावृत्तिका लागि अप्लाई गर्न नागरिकता चाहिने रहेछ, मसँग भएन । त्यहाँबाट वन्चित भएँ । मोबाइलको सिम बुबाको नाममा झिकेको छु । बैंकमा खाता छैन ।


