१२ मंसिर २०८३, शुक्रबार

चीनको ‘उपहार कूटनीति’को सिकार बन्यो अफ्रिका, जासुसी गरेर सबै सूचना लगेपछि चिनियाँ अत्याचारको पक्षमा बोल्न बाध्य

एसीपी संवाददाता

१७ कार्तिक २०७९, बिहीबार ०८:२२ मा प्रकाशित

काठमाडौं । चीनले अफ्रिका महादेशमा आफ्नो प्रभाव विस्तार गर्न उपहार कुटनीतिको प्रयोगलाई तीव्रताका साथ अगाडि बढाएको छ । अफ्रिकालाई उपहार कुटनीतिमा प्रभावित पारेको चीनले जासुसी गर्दै आफ्ना अत्याचार ढाक्न अन्तर्राष्ट्रिय मञ्चमा उपयोग गरिरहेको छ ।

युक्रेनमा युद्धले विश्वका महत्वपूर्ण शक्ति राष्ट्रहरुले आफ्नो आर्थिक एवम् राजनीतिक भविष्यलाई ध्यान दिएर योजनाहरु बनाइरहेका बेला चीनले अफ्रिकी महादेशमा ‘उपहार कूटनीति’ का माध्यमबाट आफ्नो प्रभाव बढाउँदै लगेको पाइएको हो । अफ्रिकी महादेशमा रहेका खनिज एवम् अन्य स्रोतहरुमा आँखा गाडिरहेको चीनले जासुसी गतिविधिका लागि ‘उपहार कूटनीति’ लाई हतियार बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टमा उल्लेख छ ।

आफ्नो मुलुकमा शून्य कोभिड नीतिका कारण आर्थतन्त्र ओरालो लागिरहेका बेला चीनले अफ्रिकी मुलुकहरुलाई भवन, रंगशाला, प्रहरी मुख्यालय र अन्य पूर्वाधारहरु ‘उपहार’ का रुपमा प्रदान गरेको छ । गत जुलाई १४ देखि १७ मा दक्षिणी अफ्रिकी मुलुक जाम्बियाले चिनियाँ लगानीमा निर्मित केन्नेथ कडुना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अफ्रिकी संघको सम्मेलन आयोजना गरेको थियो ।

यस अत्याधुनिक सम्मेलन केन्द्रको मुख्य हलमा २५ सय जना अट्ने क्षमता रहेको छ । यसबाहेक अर्को अफ्रिकी मुलुक जिम्बाब्वेले पनि हालै चिनियाँ लगानीमा निर्मित १४ करोड अमेरिकी डलरको लागतमा निर्मित ६ तले संसद् भवनको उद्घाटन गरेको छ । १० अर्ब अमेरिकी डलरबढी वाह्य ऋणमा रहेको यो मुलुकले चीनबाट ‘उपहार’ का रुपमा उक्त भवन प्राप्त गरेको हो । यो चीनले यो वर्षमात्रै अफ्रिकामा निर्माण गरेका २६ औँ संसद् भवन हो ।

अमेरिकामा आधारित हेरिटेज फाउन्डेसनका अनुसार चीनले हालैमात्र लेसोथो, मोजाम्बिक, गिनी बिसाउ, मलावीसहित अफ्रिकी मुलुकमा २६ वटा संसद् भवन, २४ वटा राष्ट्रपति वा प्रधानमन्त्री कार्यालय, ३२ सैन्य एवम् प्रहरी कार्यालय र १९ विदेश मामिलासम्बन्धी भवनको निर्माण, विस्तार वा मर्मत गरेको छ । हाल चीनले इथियोपियाको राजधानी आदिस अबाबामा अफ्रिकी रोग नियन्त्रण एवम् रोकथाम केन्द्रको भवन निर्माण गरिरहेको छ । ९० हजार वर्गमिटर क्षेत्रमा फैलिएको यो भवन परियोजना यही वर्षको डिसेम्बर महिनामा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

यसअघि आदिस अबाबामा नै चीनले उपहारका रुपमा सन् २०१२ मा २० करोड डलरको लगानीमा अफ्रिकी संघको मुख्यालय निर्माण गरेको थियो । गत जुलाई महिनामा चीनले तान्जानियामा ४ करोड डलरको लगानीमा निर्माण गरेको जुलियस न्यरेरे नेतृत्व शिक्षालयलाई पनि त्यहाँको सरकारको जिम्मा लगाएको थियो । यसबाहेक मोजाम्बिक, सिएर लियोन र युगाण्डाका विदेश मन्त्रालयका भवनहरु पनि उपहारस्वरुप चिनियाँ लगानीमा निर्माण भइरहेका छन् ।

अफ्रिकी मुलुकमा पूर्वाधार उपहारस्वरुप प्रदान गर्ने चीनको भित्री उद्देश्य भने अर्कै रहेको बताइन्छ । सन् २०१८ मा फ्रान्सको ला मोन्द अखबारले अज्ञात स्रोतलाई उद्धृत गर्दै सन् २०१२ देखि सन् २०१७ सम्म ५ वर्ष अफ्रिकी संघको भवनमा जडित कम्प्युटरको डेटा चिनियाँ सर्भरमा जाने गरेको खुलासा गरेको थियो । सन् २०१७ को जनवरी महिनामा प्राविधिकहरुले मध्यरात १२ बजेदेखि सबेरै २ बजेसम्म अफ्रिकी संघको कार्यालय बन्द रहेपनि ठूलो परिमाणमा डेटा प्रयोग भइरहेको पत्ता लगाएपछि थप खोजबिन गर्दै जाँदा यस्तो तथ्य फेला परेको थियो ।

उक्त अखबारका अनुसार ती डेटा चीनको साङ्घाईस्थित सर्भरमा जाने गरेको थियो । सञ्चारमाध्यमहरुका अनुसार यस्तो तथ्य पत्ता लागेसँगै अफ्रिकी संघले त्यहाँ चिनियाँ सर्भर हटाएर आफ्नै सर्भर जडान गरेको थियो । यस्तै, सन् २०२१ को फेब्रुअरी महिनामा अमेरिकी अधिकारीहरुले चीनले आदिस अबाबामा निर्माण गरिरहेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई अफ्रिकीहरुको अणुवांशिक तथ्यांक संकलनका लागि प्रयोग गर्नसक्ने चेतावनी दिएको फाइनान्सियल टाइम्सले जनाएको थियो ।

जर्ज वाशिंटन विश्वविद्यालयका प्राध्यापक डेभिड सिनले साउथ चाइना मर्निङ पोस्टलाई बताएअनुसार उपहारस्वरुप निर्माण गरिएका यस्ता भवनलाई चीनले आफ्नो भित्री उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्नसक्ने हुँदा स्वार्थ बाझिने हुन्छ । यसबाहेक हाल चीनद्वारा अफ्रिकामा निर्मित अन्तरसरकारी सञ्चार सञ्जालले धेरै विश्लेषकहरुलाई चिन्तित तुल्याएको छ । ट्रान्जिसन ग्रुप र हुवावेजस्ता चिनियाँ सञ्चार कम्पनीले त्यहाँ सञ्चार पूर्वाधारसहित स्मार्टफोनको बजारलाई पनि विस्तार गरिरहेका छन् । अफ्रिकाका लागि बनाइएका यस्ता स्मार्टफोनमा यसअघि नै पैसा पठाउन र पाउनका लागि सुरुवातमा नै एप्लिकेसन इन्स्टल गरिएका हुन्छन् ।

यस्ता एपका माध्यमबाट पनि चिनियाँ कम्पनीहरुले पहुँच बढाउने विश्लेषकहरुको चिन्ता रहेको छ । धेरै अफ्रिकी नागरिकहरुले यस्तो डिजिटल प्रविधिलाई निकै उपयोगी मान्दै आएका छन् । यद्यपि, केही विश्लेषकका अनुसार उनीहरुले अञ्जानमा चीनलाई आफ्नो वित्तीय गतिविधिको पहुँच दिइरहेका छन् । यसबाहेक धेरै अफ्रिकी मुलुकका सरकारले विरोधी र आलोचकलाई निशाना बनाउन पनि चिनियाँ प्रविधिको उपयोग गरिरहेका छन् ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार युगान्डा र रवान्डाका सरकारले चिनियाँ प्राविधिक कम्पनी हुवावेको सहयोगमा आलोचकहरुको ह्वाट्सएप र स्काईप ह्याक गरी उनीहरुलाई निशाना बनाएका थिए । हेरिटेज फाउन्डेसनका अनुसार चीनको ‘उपहार कूटनीति’ का मुख्य दुई उद्देश्य रहेका छन् । पहिलो यसबाट अफ्रिकी नेताहरुको गतिविधिलाई निगरानी गर्न चीनलाई अझ सहज हुन्छ भने दोस्रो, राष्ट्रसंघ विश्व व्यापार संघजस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा अफ्रिकी मुलुकहरुबाट चीनलाई कूटनीतिक लाभ मिल्छ ।

उक्त संस्थाका अनुसार सन् २०१९ मा ३७ अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुले चीनको सिन्जियाङ प्रान्तमा उइगुर मुसलमानविरुद्ध जारी मानवअधिकार उल्लङ्घनको विषयमा चीनको बचाउ गर्दै खुलापत्र जारी गरेका थिए । त्यसैगरी सन् २०२० को जुन महिनामा २५ अफ्रिकी मुलुकहरुले स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा हङकङमा विवादास्पद राष्ट्रिय सुरक्षा कानून लागू गर्ने विषयमा चीनको समर्थन गरेका थिए ।

यस्तै, यसै वर्षको अक्टोबर ६ मा बेलायत, अमेरिका र टर्कीले चीनका उइगुर र अन्य अल्पसङ्ख्यकको मानवअधिकार हनन् भएको भनिएको घटनाबारे छलफल गर्न ल्याएको प्रस्तावलाई परिषदमा रहेको सोमालीयाबाहेकका सबै अफ्रिकी मुलुकले अस्वीकार गरेका थिए । यसबाट चीनले अफ्रिकी मुलुकहरुको स्वतन्त्रता र ती देशका नागरिकहरुको हित र विश्वव्यापी चिन्ताको बदलामा ती देशलाई उपहार प्रदान गरेको देखिएको रिपोर्टमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x