१३ मंसिर २०८३, शनिबार

माघ ११ पछि गृह मन्त्रालय कांग्रेसलाई, राष्ट्रिय सभा अध्यक्षमा नारायणकाजी श्रेष्ठ!

एसीपी संवाददाता

१८ पुष २०८०, बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं– माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनपछि सरकार फेरबदलको तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेपाली कांग्रेसलाई उपप्रधान तथा गृहमन्त्री दिने तयारीमा छन्।

हाल सो जिम्मेवारीमा रहेका माओवादी बरिष्ठ उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठलाई भने राष्ट्रिय सभा अध्यक्ष बनाउने तयारी रहेको माओवादी स्रोतले जनाएको छ।

भागवन्डा र सहमतिका लागि कांग्रेस र माओवादीबीच छलफल चलिरहेका बेला यस्तो चर्चा सतहमा आएको छ। अर्थ मन्त्रालय भने माओवादीले लिने सहमति बन्न सक्ने बताइन्छ। अर्थमन्त्रीमा माओवादी उपमहासचिव बर्षमान पुनःको चर्चा छ।

राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसको दाबी रहेको बताइए पनि केन्द्रीय समितिको बैठकले नयाँ अनुहारलाई मात्र पठाउने नीति पास गरेपछि पुराना नेता नआउने निश्चित छ। यसो हुँदा माओवादीको दाबीमा सहमति हुने बताइन्छ।

अन्यथा कांग्रेसले नेता गोपालमान श्रेष्ठ अथवा कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने तयारी भएको थियो। तर, उनीहरूलाई राष्ट्रिय सभामा ल्याउने बाटो ब्लक भएपछि माओवादीको दाबी परेको छ। जसमा श्रेष्ठको चर्चा बलियो छ।

‘सरकार हेरफेर हुँदा माओवादीले गृह छाडेर अर्थ मन्त्रालय लिनेछ। यसक्रममा उपमहासचिव बर्षमान पुनः आउने सम्भावना रहेको छ। गृहमन्त्री रहनुभएका बरिष्ठ उपाध्यक्ष राष्ट्रिय सभा अध्यक्षमा जानुहुनेछ’, माओवादी स्रोतले भन्यो।

१९ सिटका लागि हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा एमालेले पनि कांग्रेसलाई लोभ देखाएको थियो। त्यसमा १३ सिट कांग्रेसलाई दिएर ६ वटा मात्र आफू राख्नेगरी प्रस्ताव गरेको एमाले गठबन्धनबाहेक निर्वाचनमा गए एक सिट पनि ल्याउन मुस्किल छ।

सत्ता गठबन्धनमा नै भागवन्डा अनिवार्य गरी एमालेलाई रिक्त सदस्य पदमा शून्यमा झार्नुपर्ने माओवादीको प्रस्ताव छ। एमालेका सिटमा नेकपा एकीकृत समाजवादी, माओवादी र कांग्रेसको दाबी रहेको छ।

यद्यपि, कांग्रेसलाई नौ जना दिनेगरी सहमति हुन सक्ने बताइन्छ। गठबन्धनका माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १० सिटमा भागवन्डा गर्न सक्ने अड्कल गरिएको छ। त्यसमा माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा दाबी रहनेछ।

‘एमालेको आकर्षक प्रस्ताव हुँदा पनि कांग्रेसले तत्काल गठबन्धन छाड्न नहुने मत पनि बलियो छ’, कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन्,‘यसैले सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएको खण्डमा कांग्रेस गठबन्धनभित्र नै सहमति गर्न तयार हुनेछ।’सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x