नेपालगंज उप-महानगरपालिकाका मेयर प्रशान्त बिस्टको हिजो प्रेस मीटमा भनाई
नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इ-रिक्सा व्यवस्थापनका लागि हामी निर्वाचित भएर आएदेखि नै दत्तचित्त भएर लागेका छौं। सडक अस्तब्यस्त हुने, दुर्घटना बढ्ने, नियम कानुन विपरीत चलेका इ-रिक्सालाई नियमन गर्न गाह्रो हुने देखेर नेपालगञ्ज नगरमा आवश्यकता भन्दा धेरै इ-रिक्सा गुडिरहेको यथार्थलाई मनन गर्दै व्यवस्थापनमा जुटेका हौं। आवश्यक प्रक्रिया नपुऱ्याएर नगरमा जथाभावी गुडिरहेका इ-रिक्साहरुको प्रभावकारी नियमनका लागि लामो समयदेखि काम हुँदै आएको छ । सबै सरोकारवालाहरुसंग पटक-पटक भएका छलफल र निष्कर्षपछि तय गरिएको कार्ययोजना अनुरुप हामी इ-रिक्सा व्यवस्थापनमा लागेका हौं।
जिल्ला प्रशासन, यातायात कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, इ-रिक्सा सम्बद्ध संघसंस्थाका प्रतिनिधि लगायतसंग घनिभूत छलफल गरेर व्यवस्थापन र नियमनको मार्ग तय गरेका हौं । नगरमा अवैध तरिकाले गुडिरहेका इ-रिक्सालाई प्रक्रियामा ल्याउन चरण-चरणमा समय दिएका छौ। अद्यावधिक नभएका इ-रिक्सालाई अद्यावधिक गर्न, यातायात कार्यालयमा दर्ता गरी नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुन पनि थुप्रै पटक सार्वजनिक सूचना जारी गरेका छौं नेपालगञ्ज उपमहानगरपालिकाले प्रक्रिया नपुऱ्याएर चलिरहेका इ-रिक्सा मंसिर १९ गतेदेखि नियन्त्रणमा लिन सुरु गरेको हो इ-रिक्सा नियन्त्रणमा लिन सुरु गर्नुअघि पटक-पटक प्रक्रिया पुयाउन आग्रह गरिएको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ-रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । कुनै पनि कोणवाट वैधानिक सावित नहुने केही इं-रिक्सालाई हामीले पुनः प्रयोग गर्न नमिल्ने गरी स्क्र्याच गरेर (नष्ट) सम्वन्धित इ-रिक्सा चालक/धनीलाई फिर्ता दिएका छौं। इ-रिक्सामा लागेका ब्याट्री फिर्ता गरिदिएका छौं। कुनै पनि किसिमले वैध सावित नहुने भागहरु क़वाडमा विक्रिी गर्न सक्ने गरी सम्वन्धित व्यक्तिलाई बुझाइदिएका छौं। आवश्यक कागजात नभएका इ-रिक्साको प्राविधिक जाँच समेत गरेका छौं। यातायात कार्यालयका प्राविधिकमार्फत इ-रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले नमिलेको वा भए/नभएको प्राविधिक जाँच भएको छ । इ-रिक्सा नियन्त्रण अभियान चलिसकेपछि हालसम्म ६३१ वटा इ-रिक्सा नियन्त्रणमा लिइएको छ। ती मध्ये आवश्यक कागजात र प्रक्रिया पुर्याएपछि ५५५ इ-रिक्सा फिर्ता भएका छन्। अब अझै ७६ वटा इ-रिक्सा नियन्त्रणमै छन् ती मध्ये केही इ-रिक्सा पूर्णरुपमा अवैध छन्। चेसिज नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएका, विलविजक नभएका, कहिँकतैबाट वैध साबित नहुने ती इ-रिक्सा पुनः प्रयोग नगर्ने गरी फिर्ता गर्दैछौं इ-रिक्सा व्यवस्थापन अभियानमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले सबैको सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको छ । 


