भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि मौलायो तस्करी
झापा — भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । भारतको बिहार र बंगाल दुवै राज्यबाट तस्करी भएर प्याज नेपाल आइरहेको प्रहरीले जनाएको छ । भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेको हो । सीमा क्षेत्रका अधिकांश सर्वसाधारण भारतबाट आयातित प्याजको भरमा छन् ।
गत ७ डिसेम्बरदेखि आगामी ३१ मार्चसम्म भारतले प्याजको निकासी प्रतिबन्ध लगाएको थियो । आसन्न लोकसभा चुनाव अघि मुद्रास्फीति नियन्त्रणका लागि भारतीय केन्द्र सरकारले यो कदम चालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वैदेशिक व्यापार महानिर्देशनालयले हालै एक सूचना जारी गरी प्याजको निकासी नीतिलाई ‘निःशुल्क’ बाट ‘निषेधित’मा रुपान्तरण गरिएको जनाएको छ ।
भारतको निकासी प्रतिबन्धपछि सीमावर्ती बजारहरूमा प्याजको माग बढ्न थालेको छ । जसका कारण स्वाभाविक रुपमा प्याजको भाउ वृद्धि भएको छ । भाउ वृद्धिसँगै तस्करी मौलाएको हो । ‘बजारमा प्याजको माग उच्च छ,’ मेचीनगरका तरकारी व्यापारी मनबहादुर राईले भने,‘भाउ पनि महँगिएको छ ।’ उनका अनुसार कतिपय व्यापारीले अवैधानिक बाटोबाट ल्याएर प्याज बिक्री गरिरहेका छन् । झापा, मोरङ र सुनसरीका सीमावर्ती नाकाबाट अबैध ढंगबाट प्याज भित्रिरहेको पाइएको छ । खासगरी झापाका सीमा नाकाहरूबाट प्याज अवैध रुपमा आइरहेको सुरक्षा स्रोतले दाबी गरेको छ ।
सुरक्षा स्रोतका अनुसार विभिन्न नाबाबाट प्रहरीले करिब एक लाख भन्दा बढी मूल्यको प्याज बरामद गरेको छ । सबैभन्दा बढी झापाका नाकाबाट प्याज भित्रिरहेकाले नाकामा निगरानी कडा बनाएको उनले बताए ।
नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको एक भन्सार अधिकृतले जनाए । ‘प्याजमा हामीले प्रतिबन्ध लगाएका हैनौं,’ विराटनगरका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भने,‘वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’
विराटनगर भन्सारबाट दुई सातायता प्याजको आयात ठप्प छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ । त्यही क्रममा प्याज बरामद गरेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ करोड ८५ लाख बढी मूल्यको प्याज आयात भएको थियो । भारतको प्रतिबन्धपछि भन्सारको बाटोबाट एक दाना प्याज पनि भित्रिएको छैन । ‘उपभोक्ताले सीमापारि बजारबाट किनमेल गरेर ल्याएको पाइन्छ,’ एक भन्सार कर्मचारीले भने,‘तर, भन्सारको बाटोबाट प्याज आएको छैन ।’
करिब ९० प्रतिशत बढी माग भारतीय प्याजले धान्दै आएको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा बिक्री गरी उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको देखिन्छ । नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ छ । भारतमा थोक मूल्यप्रतिकिलो भारु ३० छ । खुद्रामा प्याज प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ ।
सबै नाकामा उस्तै
गत शनिबार रुपन्देही प्रहरीले करिब ८५ हजार मूल्यको १ हजार ७ सय किलो प्याज बरामद गरेको थियो । गत मंगलबार पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले २४ लाख मूल्य बराबरको प्याज र कपडा बरामद गरेको थियो । गत शुक्रबार बारा प्रहरीले पथलैया चोकबाट १७ हजार ७३० किलो प्याज बरामद गरेको थियो । दुई साताअघि जिल्ला प्रहरी बाराले सोही क्षेत्रबाट रु ७२ हजार मूल्य बराबरको प्याज बरामद गरेको थियो । जिल्ला प्रहरी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ र पाल्हीनन्दन गाउँपालिका–५ भगतपुरबाट मंसिर २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिमले चार लाख मूल्य बराबरको करिब ९ सय किलो प्याज बरामद गरेको थियो । भारतले २१ मंसिरदेखि प्याज निकासीमा प्रतिबन्ध लगाएको थियो ।
तस्करी गरी काठमाडौं लैजादै गरिएको करिब १६ टन प्याज गत पुस १ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङबाट प्रहरीले बरामद गरेको थियो । भैरहवामा पनि प्रतिबन्धपछि ठूलो परिमाणमा प्याज बरामद भएको थियो । भन्सार विभागका अनुसारभन्सार विभागका अनुसार गत आर्थिक वर्षमा करिव ६ अर्ब ७५ करोड बढी मूल्यको प्याज आयात भएको छ । भारतको नासिक, इन्दौर, कानपुर र गुजरातबाट नेपालमा प्याज आउँछ । आन्तरिक उत्पादन ज्यादै न्यून भएका कारण नेपाली उपभोक्ता भारतीय प्याजमा निर्भर हुन बाध्य छन् । ईकान्तिपुर


