त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ ।
यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो ।
गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेलले बताए ।
‘हिजोका दिनमा भन्सार क्षेत्रबाट निकै नै त्रुटि भएका थिए, त्यसलाई सुधार्न पनि सशस्त्र प्रहरी परिचालन गरिएको हो,’ अर्थ स्रोतले भन्योे ।
यात्रु आगमन कक्षमा सशस्त्र प्रहरी परिचालन गरिए पनि कार्गो कक्षमा विद्यमान सुरक्षा व्यवस्थामा कुनै परिवर्तन नगरिएको भन्सार स्रोतले बतायो । ‘कार्गो कक्षमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ, त्यसलाई कायमै राखिएको छ,’ स्रोत भन्छ ।
सशस्त्र प्रहरीले जाँच गर्न थालेपछि कर्मचारी र तस्करले बनाइरहेको जालोमा धक्का परेकाले त्यसको विरोध भएको स्रोतको दाबी छ । ‘विमानस्थलमा धेरै प्वाल थिए, सशस्त्र परिचालनमार्फत तिनलाई टाल्न खोजिएको छ,’ स्रोतको दाबी छ, ‘नयाँ काम गर्दा अवरोध आउनु स्वाभाविक नै हो ।’
आफूले खोजेको भूमिका सशस्त्रलाई दिइएकोमा प्रहरीको असन्तुष्टि
त्रिभुवन विमानस्थल भन्सार जाँचपास कक्षबाट समेत बाहिरिइसकेको ६१ किलो सुन सडकबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरी परिचालन गर्न लबिइङ गरिरहेका थिए ।
सुन प्रकरण सार्वजनिक भएपछि ५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री श्रेष्ठले ‘भन्सार जाँचमात्र होइन, आगमन पछाडि नै प्रहरीको कुनै भूमिका नहुने र त्यसमा प्रहरीको भूमिका हुनुपर्ने’ बताएका थिए ।
गृहमन्त्रीले यस्तो बताइरहँदा भन्सार जाँचपासमा भूमिका पाउने अपेक्षा नेपाल प्रहरीको थियो । त्यसका लागि उसले लबिइङ पनि गरिरहेको थियो । तर, भन्सार प्रशासनका कर्मचारी भने नेपाल प्रहरीलाई त्यो जिम्मेवारी दिन तयार भएनन् । त्यसो हुँदा आगमन कक्षको सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिने निर्णय गृहमन्त्री श्रेष्ठले गरे ।
विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय नै छ । ‘विमानस्थल सुरक्षामा नेपाल प्रहरी संलग्न हुँदै आए पनि तस्करी मौलाएकाले सशस्त्रलाई नै ल्याउनुपर्ने हाम्रो माग थियो,’ अर्थ स्रोतले भन्यो, ‘त्यहीअनुसार गृहले निर्णय गरेको छ ।’ अनलाइन खबर


