१२ मंसिर २०८३, शुक्रबार

सहकारीको पैसा घोटालामा मुछिएका रविलाई कृषि/सहकारी समिति सभापति आरजुको कडा जवाफ, पछि हटे लामिछाने

एसीपी संवाददाता

११ माघ २०८०, बिहीबार १०:३५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले सहकारी घोटाला प्रकरणमा ठगी गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताएकी छन् ।

सहकारीको ठगीमा परेका सेवाग्राहीलाई सरकारले पैसा दिनेभन्दा पनि ठगहरुबाटै उठाएर रकम फिर्ता गर्नुपर्ने उनको भनाइ छ । सहकारी घोटाला काण्डमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले जति पनि सहकारीबाट ठगिएका नागरिक छन् उनीहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने तर्क गरेका बेला कृषि सहकारी समिति सभापति देउवाले ठगी गर्नेहरुबाटै फिर्ता गराउनुपर्ने धारणा राखेकी हुन् । ‘सरकारले दिने होइन । जसले ठगेको छ, त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,’ उनले भनिन् ।

संसदीय समिति सभापति देउवाको धारणापछि लामिछानेले आफ्नो अभिव्यक्ति सच्याएका छन्। उनले सरकारी पीडितको पैसा सरकारले दिनेभन्दा सरकार जिम्मेवार हुनुपर्ने धारणा राखेका छन् । यसअघि लामिछानेले सहकारी पीडितलाई सरकारले नै पैसा दिनुपर्ने बताएका थिए । आफू सहकारीबाट पैसा लगेर टिभी खोल्ने अनि डुबाउने र सहकारी बचतकर्तालाई बिचल्लीमा पार्ने तर पैसा भने सरकारले तिर्नुपर्ने भन्दै धेरै विरोध जनाएका थिए । यसैबीच कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले सहकारी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै तत्कालका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिएको हो ।

सहकारीको मर्मविपरीत काम गरेकै कारण नेपालको सहकारी धराशायी बनेको समितिको ठहर छ । त्यस्तै, सहकारी संस्थाहरू उत्पादनमूलकभन्दा पनि बचत तथा ऋणको कारोबारमै बढी केन्द्रित हुँदा अहिलेको अवस्था सिर्जना भएको सभापति आरजु राणा देउवाले बताइन् । सहकारीले बैंकलाई विस्थापन गर्न नसक्ने बताउँदै कालोधनको कारोबार गर्न सहकारीको प्रयोग भएको उनको भनाइ छ । त्यस्तै, सहकारी ऐनमा भएको कमजोर व्यवस्थाका कारण यो क्षेत्र जोखिममा परेको भन्दै उनले ऐन संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित नोट नै बुझाउने बताइन् । ‘यो क्षेत्रको सुधारका लागि गर्नुपर्ने कार्यहरू प्रधानमन्त्रीलाई लिखित रूपमा नै बुझाइनेछ,’ उनले भनिन् । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भने सहकारी नियमनको विषयमा संघ, प्रदेश र स्थानीय निकायबीच स्पष्ट कानुन नहुँदा समस्या भएको बताए । सरकारले सहकारीको क्षेत्रधिकारअनुसार स्थानीय, प्रदेश र संघमा जिम्मा लगाएको छ ।

८० प्रतिशत सहकारी प्रदेश र स्थानीय निकायअन्तर्गत परिचालित छन् । संघअन्तर्गत एक सय ४९ वटा मात्रै छन् । नियमनका लागि सबै निकायले कानुन नबनाएको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x