नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ । नेपालगन्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । बिनोदले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगञ्ज मोडेलकै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुवातमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवनज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगञ्ज मोडेल एकेडेमीका रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौलाले पुरस्कृत गरे ।
आजको दोस्रो खेलमा जय बागेश्वरीले मंगलप्रसाद माविलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । मंगलका अभिशेक विकले सुरुवातको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर ५७औं मिनेटमा भएको आत्मघाती गोलका कारण खेल बराबरी हुन पुगेको थियो । टाइब्रेकरमा जय बागेश्वरीका अभिशेक राजवंशी, उत्कर्ष साउद र विजय चौधरीले गोल गरे । यता मंगलका अभिशेक विकले मात्र गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल जय बागेश्वरीका गोलकिपर पवित्र थारुलाई रामजानकी गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का वडा सदस्य जगमोहन कादुले पुरस्कृत गरे ।
तेस्रो खेलमा मोडर्न पब्लिक स्कुलले डाइनामिक स्कुललाई १–० ले पराजित गरेको छ । मोडर्नको जीतमा प्रतिक विष्टले ४९औं मिनेटमा निर्णायक गोल गरे । खेलमा मोडर्नका कप्तान विवेक विष्ट म्यान अफ द म्याच घोषित भए । उनलाई धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले पुरस्कृत गरे । आजको चौथो खेलमा ड्रिमल्याण्ड स्कुलले होलील्याण्डलाई ३–० ले हरायो । ड्रिमल्याण्डको जीतमा विवश न्यौपानेले २४औं मिनेट, सुनिल थापाले ४९औं मिनेट र अजित पुन मगरले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल ड्रिमल्याण्डका विवश न्यौपानेलाई नेपालगञ्ज उप–महानगरपालिकाका निवर्तमान उप–मेयर उमा थापाले पुरस्कृत गरिन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिताको छात्रतर्फ समूह ‘ए’ मा पशुपति मावि राँझा, बागेश्वरी एकेडेमी, मंगलप्रसाद मावि, जय बागेश्वरी स्कुल, होलील्याण्ड मावि, ड्रिमल्याण्ड स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्सियल, जिभिएन कलेज, नेपालगञ्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपालगञ्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोडर्न पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्याण्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजनाथ, अमर मावि सि गाउँ, ब्राइटल्याण्ड कलेज, बाल विद्या मावि, कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगञ्ज रहेका छन् । प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताए ।