१२ मंसिर २०८३, शुक्रबार

एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने छानविन समितिको निष्कर्ष

एसीपी संवाददाता

१७ माघ २०८०, बुधबार १०:५९ मा प्रकाशित

काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ ।

समितिले आजियाटा र स्पेक्ट्रलाइट यूके बीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक टङ्कमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको जानकारी गराए । उनले एनसेलको पटक–पटक शेयर खरिद बिक्री हुँदा राज्यका कतिपय निकायले आफ्नो जिम्मेवारी पालना नगरेको देखिएकाले थप छानबिन गर्न सिफारिस गरिएको बताए । उनले स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशङ्का रहेको भन्दै संलग्नहरु माथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरिएको बताए ।

एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको पनि उनले बताए । उनले आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूके बीच गएको डिसेम्बर १ तारिख अर्थात मंसिर १५ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने तथा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशहरू समेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको बताए ।

प्रतिवेदनमा ‘विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो शेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन’ भन्ने उल्लेख छ ।

समितिले एनसेल खरिदकर्ता स्पेक्ट्रलाइट यूकेको प्राविधिक क्षमता माथि नै प्रश्न उठाएको छ । खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिलाई अध्ययन गर्नुपर्ने समितिको सुझाव छ । यो उज्यालो अनलाईनमा खबर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x